ओभरीमा निर्माण गरिएको सर्पदंश उपचार केन्द्र सञ्चालनमा

१९ भाद्र २०७५, मंगलवार २१:०८
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके)  :  पूर्वपश्चिम राजमार्गको ओभरीमा निर्माण गरिएको सर्पदंश उपचार केन्द्र मंगलबारदेखि सञ्चालनमा ल्याईएको छ । २९ लाख २६ हजार ३ सय ६४ रुपैयाको लागतमा निर्माण भएको सो सर्पदंश उपचार केन्द्रको राप्तीसोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले उद्घाटन गरेका हुन ।
गाउँपालिकाले २० लाख ५० हजार र बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाको लागि खटिएको श्रीमेहर गणले ९ लाख ६२ हजार ३ सय ६४ बराबरको प्राविधिक तथा जनश्रमदानबाट सो भवन निर्माण भएको हो । उद्घाटनसंगै सो केन्द्र सञ्चालनमा समेत ल्याईएको छ ।
भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष थारुले यस केन्द्रमा बाँकेको राप्तीसोनारी तथा दाङ्गबाट समेत आउने सर्पदंशका विरामीले उपचार सेवा पाउने विश्वास व्यक्त गरे । राप्ती सोनारी गाउपालिकाका ५१ हजार जनसंख्यालाई लक्षित गरी निर्माण गरिएको सो भवन बहु उपयोगी हुने विश्वास गरिएको छ ।
भवनको समुदघाटन समारोहमा जानकारी दिदै श्रीमेहर गणका गणपति तथा प्रमुख सेनानी बासुदेव धिमालले सर्पदंशका विरामीले मात्र नभई सो केन्द्रबाट राजमार्गमा हुने सवारी दुर्घटनाका विरामलाई समेत प्राथामिक उपचार दिन सकिने गरी सञ्चालनमा ल्याउन पहल गरिने बताए ।
उनले भने–‘गत वर्ष हाम्रो पल्टन धनकुटाबाट यहाँ आउदा बाढीले ग्रस्थ भएको बेलामा धेरै सर्पदंशको घटना देखिएको कारण हामीसंग प्राविधिक जनशक्ति हुँदा पूर्वपश्चिम राजमार्गमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउन सके धेरैको जीवन बचाउन सकिने ठहरका साथ निर्माण गर्न पहल गरिएको हो ।’
उनले सो केन्द्रलाई राजमार्गको आपतकालिन अस्पतालको रुपमा विकास गरेर लैजान सकिने कुरा बताए । उनले भने–‘बाँके निर्वाचन क्षेत्र नं. १ क बाट निर्वाचित सांसद कृष्णा केसी नमूनाले यस केन्द्रले सञ्चालन गर्ने गरी हाईवे एम्बुलेन्स राख्ने साथै यसलाई प्राथामिक ट्रमा सेन्टरको रुपमा विकास गर्ने प्रतिबद्धता गर्नु भएको छ । भने गणले प्राविधिक जनशक्ति उपलब्ध गराउने छ ।’
सो केन्द्र सञ्चालनको लागि भेरी अञ्चल अस्पतालको सर्पदंश विभाग प्रमुख समेत रहेका डा. कृष्णप्रसाद आचार्यले आवश्यक ‘टेक्निकल सर्पोट’ तथा अन्य सहयोग गर्ने जानकारी दिए । उनले अत्यन्तै जोखिममा रहेको विरामीलाई बचाउनको लागि केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
सो केन्द्र सञ्चालनको लागि अक्षयकोषको समेत व्यवस्था गरिएको र हालसम्म अक्षयकोषमा २० लाख बढी जम्मा भएको केन्द्र निर्माण समितिले जानकारी दिएको छ । केन्द्र निर्माणको लागि विभिन्न सहयोग गर्नेलाई कदरपत्र तथा सम्मान गरिएको थियो ।
राप्तीसोनारी गाउपालिका वडा नं. ८ का अध्यक्ष तथा केनद्र निर्माण तथा व्यवस्थापन समितिका संयोजक खुमबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री प्रेमबहादुर भण्डारी, कोहलपुर नगरपालिकाको उपमेयर सञ्जुकुमारी चौधरी, राप्तीसोनारी गाउपालिकाका उपप्रमुख धनिकुमारी खत्री, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन लगायतको उपस्थिति रहेको थियो ।  

Next Post

उच्च शिक्षाका लागि ‘तीज महोत्सव’

१९ भाद्र २०७५, मंगलवार २१:०८
सदरलाइनडटकम, नेपालगन्ज : बादी समुदायका बालबालिकालाई उच्च शिक्षा प्रदान गर्न नेपालगन्जमा ‘बृहद सांस्कृतिक विशेष तीज महोत्सव’ आयोजना गरिने भएको छ । छात्रबृत्ती रकम संकलन गर्न तीजको अवसर पारेर तीज महोत्सव गर्न लागिएको हो । सेफ नेपालले बुधवार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा तीज महोत्सवबाट संकलन भएको रकमको ५० प्रतिशत बादी समुदायका बालबालिकाको […]