खडेरी परेको बाँकेको नरैनापुरलाई विशेष प्याकेज घोषणा गरिने छ : अर्थमन्त्री शर्मा

रुद्र सुवेदी १७ भाद्र २०७९, शुक्रबार १९:२२
 

नरैनापुर (बाँके) : अर्थ मन्त्री जनार्दन शर्माले लामो खडेरी र प्राकृतिक विपत्तिको सामना भोग्नु परेका नरैनापुरका किसानको लागि राहत प्याकेज कार्यक्रम तयार गरिने बताएका छन् । लामो खडेरीका कारण खेतीहुन नसकेपछि हुनसक्ने भोकमरीबाट नरैनापुरलाई जोगाउन छुट्टै कार्यक्रम ल्याईने उनको भनाई थियो ।

लामो खडेरीको कारण नरैनापुरका किसानले १५ प्रतिशत पनि खेती लगाउन नपाएको जानकारी भएपछि नरैनापुरको स्थलगत अवलोकन पुगेका अर्थ मन्त्री शर्माले नरैनापुरको अवस्थाको बारेमा आफुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको बैठकमा जानकारी गराउदै नरैनापुरको बारेमा विशेष सम्बोधन गर्न लगाउने प्रतिबद्धता जनाए ।

सुर्खेतबाट काठमाण्डौ जाने क्रममा नेपालगञ्ज हुँदै नरैनापुर पुगेका अर्थमन्त्री शर्माले विकास निर्माणको लागि पनि नरैनापुर प्रति आफु सकारात्मक रहेको बताउदै आफ्नो तर्फबाट सकिने जति सहयोग उपलब्ध गराउने दाबी गरे ।

उनले धान रोप्ने समय बितेकोले नरैनापुरमा बैकल्पिक खेतीको लागि मकै वा अन्य खेती लगाउनको लागि किसानलाई मल बिउको व्यवस्था गर्न र सिचाईको समस्यालाई समाधान गर्नको लागि डिप बोरिङ्गको लागि पनि आफुले पहल गर्ने आश्वासन दिए ।


बाँके निर्वाचन क्षेत्र नं. १ क बाट प्रदेश सभा सदस्य कृष्णा केसी नमूनाले नरैनापुर अत्यन्तै पिछडिएको क्षेत्र भएकोले राज्यले यसलाई विषेश नजरले हेर्नुपर्ने कुरामा जोड दिईन । उनले जिल्लाको अन्न भण्डारको रुपमा परिचय बनाएको नरैनापुरमा लामो खडेरीको कारण १५ प्रतिशत पनि खेती हुन नसकेकोले आईपर्ने भोकमरीको समस्याबाट नरैनापुरबासीलाई जोगाउन राज्यले विषेश प्याकेजको घोषणा गर्न माग गरीन ।

उनले भनिन–‘ नरैनापुर अत्यन्तै पिछडिएको छ । खडेरीको कारण खेती लगाउन नसक्दा यसले भोकमरी निम्त्याउने संभवना बढी देखिएकोले समाधानको लागि राहत प्याकेज र बैकल्पिक खेतीमा पनि किसानलाई आकर्शित गर्न आवश्यक देखिएकोले सिचाईको लागि डिपबोरिङ्गको व्यवस्था गर्न आवश्य छ ।’

गाउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले २०७८ सालको कात्तिकको अन्तिमसाता परेको अविरल वर्षातको कारण पाकेको धान गुमाउनु परेको अवस्थाका नरैनपुरका किसानले यसवर्ष लामो खडेरीको कारण धान लगायतको खेती लगाउन नपाएकोले नरैनापुर गाउपालिकालाई सुख्खा पालिका घोषणा गरी राहत प्याकेज उपलब्ध गराउन माग गरेका हुन ।

उनले भने–‘रोजगारीको लागि उद्योग कलकारखाना छैन । नरैनापुरका जनताको आम्दानीको मुख्यस्रोत खेती किसानी नै हो । तर, यसमा पनि प्राकृति बिपत्तीको कारण पोहर पाकेको धान खेतमै उम्रियो यो वर्ष राप्ने बेलामा पानी नै नपर्दा खडेरीले रोप्नै पाएनन ।’ उनले राहतको व्यवस्था मिलाउन नसके नरैनापुरमा खडेरीले गर्दा भोकमरी समेत पर्ने चेतावनी दिए ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीलगायत नरैनापुर पुगेका उनीहरुलाई पालिकाले स्वागात सम्मान गरिएको थियो । यसअधि नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गर्न र डिप बोरिङ्गको व्यवस्था गर्नको लागि माग गर्दै प्रदेश सभा सदस्य नमुनाको पहलमा प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन समेत बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतको बाराबंकीमा यात्रुबाहक बस दुर्घटना हँदा ४ नेपालीको मृत्यु १४ घाइते

१७ भाद्र २०७९, शुक्रबार १९:२२
नेपालगञ्ज :  भारतको उत्तर प्रदेश बाराबंकीमा शनिबार बिहान भएको सडक दुर्घटनामा ४ नेपालीको मृत्यु हुनुकोे साथै १४ जान घाइते भएका छन । भारतको रुपैडियाबाट गोवा जानको लागि छुटेको बस युपि ३२ पिटी ३९४४ नंबरको यात्रुबाहक बसलाई तीब्रगतिको ट्रकले ठक्कर दिदा सो घटना भएको हो । भारतीय प्रहरीका अनुसार डवलडेकरको बस […]