नेपालगञ्ज : बिहीवारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइईको पहिलो दिनको परीक्षा बाँकेमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई बाँकेका प्रमुख धनसुदन चौलागाईले बाँकेमा यो वर्ष नियमिततर्फ ८ हजार २ सय ४१ र २ हजार १ सय ७२ गरी १० हजार ४ सय १३ जनाले जिल्लाका विभिन्न ३६ वटा परीक्षा केन्द्रबाट परिक्षामा सामेल भएको बताए ।
उनले दिएको जानकारी अनुसार पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा छात्रा ५४ र छात्र ९२ गरी १४६ जना अनुपस्थित रहेका छन् । यसैगरी यो वर्षको एसईईमा कारागार तथा बालसुधार केन्द्रबाट गरी ४० जनाले एसईई परीक्षा दिएका छन् ।


नेपालगञ्ज कारारगार केन्द्रबाट १ जना, नौबस्ता कारागार केन्द्रबाट ३ जना, जयन्दू बालसुधार केन्द्रबाट १८ जना र बालसुधार केन्द्र नौबस्ताबाट १८ जनाले पनि यस वर्षको एसईई परीक्षा दिई रहेको शिक्षा विकास तथा समन्वय ईकाई बाँकेले जनाएको छ ।
परीक्षालाई मर्यादित बनाउनको लागि परिक्षा केन्द्रमा सिसिटिभि क्यामेरा जडान गरीएको छ भने सुरक्षाको प्रबन्ध पनि उल्लेख्य मात्रामा व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय ईकाई बाँकेले जनाएको छ ।