सदरलाइनडटकम,
काठमाण्डौ : संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण चयन भएका छन् । संसदीय सुनुवाई विशेष समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो ।
राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभाका सांसद कर्णको मात्रै उम्मेदवारी परेकोले उनी सभापतिमा निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्य भीमसेनदास प्रधानले बताए । यसअघि पनि ज्येष्ठ सदस्यको हैसियतमा सभापतिको भूमिका निर्वाह गर्दै आएका कर्णले समितिको काममा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । बैठकमा सदस्यहरूले नवनिर्वाचित सभापति कर्ण नेतृत्वको समितिले आफ्नो कामलाई उदाहरणीयरूपमा अघि बढाउने विश्वास व्यक्त गरेका थिए ।


