सदरलाइनडटकम,
काठमाण्डौ : प्रहरी नियन्त्रणमा मृत्यु भएका बाँकेका राममनोहर यादव घटनाको छानवीनका लागि संसदीय समिति गठन गर्न राष्ट्रिय जनता पार्टी नेपालले माग गरेको छ । प्रतिनिधिसभाको आइतवारको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय जनता पार्टी नेपालकी सांसद चन्दा चौधरीले प्रहरी नियन्त्रणमै मृत्यु भएका यादवको घटनाको सत्यतथ्य छानवीन गर्न संसदीय समिति गठन गर्न माग गरिन् ।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालोझण्डा देखाउने क्रममा पक्राउ परेका यादवको प्रहरी नियन्त्रणमा रहेका बेला मृत्यु भएको थियो । यस्तै सांसद चौंधरीले निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना गरिन् । उनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा रेडलाईट एरिया तोकेर कर असुली गर्ने भनि दिएको अभिव्यक्तिले महिलाहरुको बेइज्जत भएको भन्दै आपत्ति जनाइन् ।


