कामचोर चिकित्सकमाथि अख्तियारको चासो

२६ श्रावण २०७५, शनिबार १३:३६
 

सदरलाइनडटकम


जाजरकोट : ड्युटीमा लापरवाही गर्ने चिकित्सकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही प्रक्रिया अघि बढाउने भएको छ । महिना नकट्दै समयअगावै हाजिर गरेर बेपत्ता हुने चिकित्सकमाथि आयोगले कारबाही प्रक्रिया अघि बढाउने भएको हो ।
त्यस्ता चिकित्सकमाथि जिल्ला प्रशासन कार्यालय जाजरकोटले कारबाहीका लागि सिफारिस गरेपछि आयोगको ध्यानाकर्षण भएको हो । जाजरकोट अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले पुरै साउन महिनाको हाजिर गरेर जिल्ला छाडेको खबर बाहिर आएपछि आयोगको टोलीले अस्पतालबाट अन्य कर्मचारीको समते कागजात कब्जा लिएको छ ।
सुर्खेतबाट गएको आयोगको टोलीले शुक्रवार राती जाजरकोट अस्पतालको अभिलेख नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतृत्वमा गरिएको अनुगमनका क्रममा कार्यालय प्रमुखलाई जानकारीनै नदिई साउन महिनाको हाजिरी गरी नेपालगञ्ज आएकी डा.राईलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
डा.राई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट जाजरकोट अस्पतालमा जेठदेखि काजमा गएकी थिइन् । विशेषज्ञ सेवा दिनुको साटो महिना नबित्दै हाजिर गरेर उनले जिल्ला छाडेपछि प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प छ ।

Next Post

दाङको आन्तरिक यातायात प्रभावित

२६ श्रावण २०७५, शनिबार १३:३६
सदरलाइनडटकम घोराहीः शनिवार बिहानैदेखि जारी अविरल बर्षात्का कारण खोलामा बाढी आउँदा दाङको आन्तरिक यातायात प्रभाबित भएको छ । घोराही तुलसीपुर र घोराही लमही खण्डका खोलामा भेल आएका कारण यातायात प्रभावित भएको हो । घोराही तुलसीपुर र घोराही लमही सडकखण्डका खोलाहरुमा भेलका कारण यातायात सञ्चानल हुन नसकेको दाङका निमित्त प्रहरी प्रमुख […]