सदरलाइन / यदुराज मिश्र 
नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले सेवाग्राहीसंग घुस रकम लिदै गरेको अवस्थामा बर्दियाबाट एकजना असिस्टेन्ट सब–ईञ्जिनियरलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
गुलरिया नगरपालिकामा कार्यरत असिस्टेन्ट सव–ईन्जिनियर रमेशकुमार गौतमलाई सेवाग्रहीसंग लिएको १० हजार घुससहित पक्राउ परेका हुन् ।
उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट गएको टोलीले उनलाई नगरपालिकाको कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।
बबई बहुमुखी क्याम्पसको शौचालय निर्माणको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिँदैगर्दा गौतमलाई नियन्त्रणमा लिइएको आयोग कोहलपुरका निमित्त कार्यालय प्रमुख नारायणदत्त उपाध्यायले जानकारी दिए । पक्राउ परेका सब–ईन्जिनियर गौतममाथि थप अनुसन्धान भईरहेको उनले बताए ।


