सदरलाइनडटकम
३० जेठ, नेपालगन्ज : खजुरा गाउँपालिका बाँकेको राजपत्र प्रकाशन भएको छ । खजुरा गाउँपालिकामा बुधवार आयोजित कार्यक्रममा अध्यक्ष किस्मतकुमार कक्षपतिले राजपत्र सार्वजनिक गरेका हुन । ६ वटा ऐनहरु समावेश गरिएको राजपत्र सार्वजनिक गर्दै अध्यक्ष कक्षपतिले कार्यविधि तथा ऐनको अभावमा करीब १ वर्षको अवधीमा कार्यसम्पादनमा कठिनाई भएको अनुभव सुनाए ।
राजपत्र प्रकाशनसंगै गाउँपालिकाको कार्यसम्पादन तथा संचालनमा सहजता आउने उनले बताए । खजुरा गाउँपालिकाको आर्थिक ऐन २०७४, विनियोजन ऐन २०७४, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४, खजुरा गाउँपालिकाको सहकारी ऐन २०७४, कृषि व्यवसाय, प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४, खजुरा गाउँपालिकाको न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ समावेश गरिएको पहिलो राजपत्र प्रकाशन गरिएको हो । बाँकी ऐन नियम नियामावली तथा कार्यविधि पनि छिट्टै समावेश गरेर प्रकाशनमा ल्याउने उपाध्यक्ष एकमाया विकले बताइन ।
उनले राजपत्र प्रकाशनसंगै कानून लागू हुने जानकारी दिइन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले भाग–१ प्रकाशन भएको बताउँदै २२ वटा ऐन नियम पारित भएकोमा प्रकाशन नभएका ऐनहरु पनि प्रकाशनको तयारीमा रहेको जानकारी दिए । कार्यक्रममा पत्रकार महासंघ प्रदेश नं. ५ का महासचिव भेषराज बस्नेतले संचार ऐन आइनसकेकोले संचार ऐन संचारमैत्री हुनु पर्ने सुझाव दिए ।