नेपालगञ्जमा ईदको रौनक फोटो फीचरसहित 

रुद्र सुवेदी २९ चैत्र २०८०, बिहीबार १९:४१
 
नेपालगञ्ज :  पवित्र महिना रमजानको एक महिनाको लामो कठोर उपबास (रोजा) सकिएसंगै ‘ईद–उल–फित्र’ अर्थात ईद मनाउन सुरु गरिएको छ ।
मुस्लिम धर्मगुरु तथा सामाजिक सद्भाव तथा अन्तर धार्मिक क्षेत्रीय समितिका सह संयोजक मौलाना अब्दुल जब्बार मञ्जरीले ईस्लामिक धार्मिक पात्रो अनुसार रमजान नवौं महिना भएको र यो महिनाभर आत्मसंयम र शुद्धिका लागि रोजा बसी दशौं महिनाको पहिलो दिन ईदगाहमा सामुहिक नमाज पढेर ‘ईद–उल–फित्र’अर्थात ईद मनाउने चलन रहेको जानकारी दिए ।
उनले रमजान सकिएको खुशियालीमा ईदगाहमा जम्मा भएर सामुहिक रुपमा प्रार्थना गरी एक आपसमा अंकमाल गरी शुभकामना साटासाट गर्ने, ईदको लागि एकसरो नयाँ कपडा वा सफा चोखो कपडा लगाएर नमाज पढेर घरमा मिठो परिकार, सेवाई, दहिवडा, जर्दापुलाउ खाने खुवाउने भएकोले ईदलाई मिठी ईद पनि भन्ने चलन रहेको बताए । ईदका लागि आवश्यक किनमेल समेत गर्ने चलन रहेको छ ।
हिजरी संवत अनुसार दशौँ महिना (सौवाल) मा मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँने गरिन्छ । नेपालगञ्जको ईदगाहमा सामुहिक नमाजको लागि पूर्वमन्त्री मोहम्मद ईतियाक राई लगायतका राजनीतिज्ञ, समाजसेवीहरु ईदगाह पुगेका थिए ।
दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने सानालाई आशीर्वाद दिने गरिन्छ ।
यस पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखीलाई दानदिनु हो । यस पर्वमा हरेक मुसलमानले एक वर्ष भित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरआनमा उल्लेख गरिएको मौलाना मञ्जरीको भनाई छ ।
यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखीलाई बाँडिन्छ जसलाई जकात भनिन्छ । इद उलफित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छे अनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई फितर भनिन्छ ।
एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बालबालिका, अशक्त, जेष्ठनागरिक, सुत्केरी र बिरामीलाई रोजा बस्नु पर्दैन । रोजा बस्नेले बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र रमजान महिनामा भोजन गर्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टैः सञ्चारमन्त्री शर्मा

२९ चैत्र २०८०, बिहीबार १९:४१
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको बिहीबार भएको १२औँ अधिवेशनका अवसरमा उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गरिन । ती दुवै विधेयक […]