बाँकेको नरैनापुर शैक्षिक सुधारका लागि खरो उत्रिँदै

२ चैत्र २०७४, शुक्रबार १८:१८
 

सदरलाइनडटकम
२ चैत, नरैनापुर (बाँके) :  बाँकेको विकट नरैनापुर गाउँपालिकामा शैक्षिकस्तर सुधारका लागि विभिन्न खाले पहल सुरु भएको छ ।
बघौडाको विकासको आधार नै शिक्षा भएकाले शैक्षिकस्तर सुधारका लागि निरन्तर छलफल, अन्तरक्रिया र बहस हुन थालेको हो । गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले स्थानीय तहमा जनप्रतिनिधि चुनिएर आएपछि शिक्षालाई विकासको मुख्य अस्त्र ठान्दै आफुले तीब्र पहलकदमी लिएको बताए । ‘बघौडाको विकासको आधार नै शिक्षा भएकोले शैक्षिकस्तर सुधारका लागि निर्वाचित भएर आएदेखि नै आफू गम्भीर भएर लागेकोे छु’–उनले भने ।
अढाई महिनाअघि बघौडा क्षेत्रका सबै ४४ सामुदायिक विद्यालय र मदरसाका प्रधानाध्यापक र प्रतिनिधिहरुसंग शिक्षाको सुधारका विषयमा गहिरो छलफल गरेका अध्यक्ष शाहले उनीहरुसंग निरन्तर अन्तरक्रिया गरेको बताए ।
सेभ द चिल्ड्रेनको सहयोग र बाँके युनेस्को क्लबको संयोजनमा नरैनापुरका सबै ४४ वटा सामुदायकि विद्यालय र मदरसालाई शैक्षिक सामग्री वितरण गर्न गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा उपस्थित विद्यालय र मदरसाका प्रधानाध्यापकलाई अध्यक्ष शाहले भने–‘शिक्षा नै नरैनापुरको विकासको मुख्य आधार हो, सुनको पर्खाल नै ठडाइदिए पनि शिक्षा नभए समाजको विकास र समृद्धि सम्भब छैन, त्यसैले तपाईंहरु गम्भीर भएर बालबालिकाको भविष्य निर्माणका लागि लाग्नुस्, केही अप्ठेरो भए मलाई भन्नुस्, म समाधान गर्छु ।’
उनले पहिलेको भन्दा शिक्षाको ग्राफ केही बढेको भए पनि शिक्षाको अवस्था अत्यन्त नाजुक भएकाले सबै मिलेर यसको सुधारका लागि परिश्रम गर्न जरुरी रहेको उनको भनाई छ । ‘यहाँको शिक्षाको लागि म सबै बजेट खन्याउन तयार छु, शिक्षक नभएका ठाउँमा शिक्षकको व्यवस्था गर्न तयार छु, भौतिक पूर्वाधार निर्माणका लागि म सक्दो गर्छु तर तपाईंहरुले कम्तिमा विद्यालयसम्म पुग्ने बालबालिकाको भविष्य सोचिदिनुस्’–अध्यक्ष शाहले भने ।


अध्यक्ष शाहले शिक्षा नियमावली तथा विद्यालयको नीति, नियमअनुसार काम नगर्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् । यस्तै चेतावनीे अढाई महिना अघि पनि दिएका थिए । ।
जयकिसान मावि गंगापुरका प्रधानाध्यापक लक्ष्मण तिवारीले शिक्षक नहुँदा पठन पाठनमा निकै अप्ठेरो भइरहेको गुनासो गरे । ‘माविमा १ दरबन्दी र १ राहत गरी २ जना शिक्षक छन्, निमाविमा ३ जना मात्रै छन्, विषयगत शिक्षकको अभाव छ, पठनपाठनमा निकै समस्या झेलिरहेका छौं, तिवारीले भने –‘विद्यार्थी संख्या अनुसार शिक्षक नहुँदा पठनपाठन गर्न समस्या भइरहेको छ ।’
महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक पेसकार सिंहले सामुदायिक विद्यालय र मदरसाबीच कोर्डिनेशन नहुँदा पनि समस्या भएको उल्लेख गरे । ‘एउटै विद्यार्थी वर्षौं वर्ष मदरसामा पढिरहन्छ तर त्यही विद्यार्थीलाई थप अध्ययनका लागि सामुदायिक विद्यालयमा पठाइँदैन’– सिंहले भने ।
जमुनीस्थित मदरसा गौसिया अहले सुन्नतका प्रधानाध्यापक फारुक खाँले आर्थिक अभावका कारण मदरसा सञ्चालन गर्न समस्या भइरहेको दुखेसो पोखे । कार्यक्रममा ४४ वटा विद्यालय र मदरसालाई शैक्षिक सामग्री वितरण गरिएको थियो । प्रत्येक विद्यालयलाई १० हजार मूल्य बराबरका ३३ प्रकारका सामग्री वितरण गरिएको हो । वितरण गरिएका सामग्री विद्यार्थीको बृत्ति विकासका लागि सदुपयोग गर्न गाउँपालिका अध्यक्ष शाहले आग्रह गरे । यसैबीच अध्यक्ष शाहले नरैनापुर ६ जमुनीस्थत मदरसा गौसिया अहले सुन्नतको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । ७५ जना विद्यार्थी रहेको त्यस मदरसा २०६४  सालमा  स्थापना  भएपनि छाप्रोमा सञ्चालन हुँदै आएको थियो । जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो ।   


 

Next Post

प्रहरीको आँखामा खुर्सानी फालेर भागेपछि ...

२ चैत्र २०७४, शुक्रबार १८:१८
सदरलाइनडटकम  २ चैत, नेपालगन्ज  : चोरहरु प्रहरीको आँखा छलेर भाग्ने गरेको घटना प्रशस्त छन्, सौचालयबाट पनि फरार भएका घटना पनि छन् । तर कैदीबन्दीले नै प्रहरीको आखाँमा खुर्सानीको धुलो हालेर भाग्न खोजेपछि नेपालगन्जमा यो खबर भाइरल भएको छ । शुक्रबार बाँकेको नेपालगन्जमा एकजना कैदीबन्दीले प्रहरीको आँखामा खुर्सानीले धुलो फालेर भाग्ने […]