पाटेबाघ गणना गर्न राखिएको स्वचालित क्यामेरामा शिकारी कैद

२१ माघ २०७४, आईतवार १९:०८
 

२१ माघ नेपालगन्ज । पाटेबाघ गणना गर्न राखिएको स्वचालित क्यामेरामा माघको पहिलो सातातिर बाँके राष्ट्रिय निकुञ्जभित्र भरुवा बन्दुक बोकेका एक शिकारी कैद भए। निकुञ्जले गत पुस १९ गतेदेखि बाघ हिडडुल गर्ने सम्भावित स्थानमा ५० जोडी स्वचालित क्यामेरा जडान गरेको थियो। बाघ गणनामा खटिएको प्राविधिक टोलीले क्यामेराका फोटा हेर्दै जादाँ शिकारी कैद भएको फेला पारेपछि निकुञ्ज प्रशासनले शिकारीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडी बढायो।

शिकारीको पहिचान गरी निकुञ्ज सुरक्षार्थ सेनाले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी बाँके निवासी भेबराज खत्रीको घरमा छापा मार्‍यो। बन्दुक जंगलमै छाडेर घरमा आएका शिकारी खत्रीले सुरुमा आफ्नो संलग्नतालाई अस्वीकार गरे। निकैबेरको केरकार पश्चात उनले अन्ततः आफ्नो संलग्नतालाई स्बीकार गरे। उनकै बयानका आधारमा निकुञ्जको जंगलमा रुखको धोद्राभित्र राखिएको भरुवा बन्दुक पनि बरामद भयो। अहिले उनीविरुद्ध निकुञ्जले ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन’ र नेपाल प्रहरीले ‘हात हतियार तथा खरखजना ऐन’ अनुसार कारबाही प्रक्रिया अगाडी बढाएको छ।

निकुञ्जको अभिलेख अनुसार खत्री चोरी शिकार गरेको अभियोगमा पक्राउ परेको यो सहित तेस्रो पटक हो। पहिलो पटक खत्रीविरुद्ध निकुञ्जमा बँदेल मारेर मासु बेचेको र दोस्रो पटक निकुञ्जभित्र ‘निरबिरालो’ मारेको अभियोग लागेको थियो। चर्चित शिकारीका रुपमा चिनिएका उनी दुबै पटक सामान्य कारबाहीमा मुक्त भएका थिए। यसपटक भने खत्रीलाई दुई वटा मुद्दा एकैसाथ चलाइएकाले कडा कानुनी कारबाही हुने निकुञ्ज अधिकारी विश्वस्त छन्।

निकुञ्ज प्रशासनले चोरी शिकारी नियन्त्रण गर्न हम्य परिरहेको छ। दिनहुँ गस्ती, पेट्रोलिङलाई बढाएपनि नियन्त्रण हुन सकेको छैन । समय–समयमा शिकारी समातिन्छन् । राजमार्गका होटलमा वन्यजन्तुको मासु फेला पर्ने गरेका छन् । यही माघ ११ गते कोहलपुरस्थित खड्गवारबाट बँदेलको मासु खाएको अभियोगमा स्थानीय बिमला खड्कासहित ३ जना पक्राउ परे। अभियुक्तले आफै शिकार गरेर मासु खाएको वा शिकारीसँग किनेर ल्याएको भन्नेबारे अनुसन्धान भईरहेको निकुञ्ज प्रशासनले जनाएको छ। यस घटनाले वन्यजन्तुको लुकीछिपी शिकार गरी बजारसम्म मासु ल्याएर विक्री गर्ने गरेको कुराको पुष्टी गरेको छ। चोरी शिकारको मुद्दामा कारबाही प्रक्रिया चलाएको निकुञ्ज प्रशासनसँग फाईलको चाङ नै लागेको छ।

‘निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनमगर चोरी शिकार नियन्त्रण चुनौतीपुर्ण काम भएको बताउँछन्। ‘पहिलेको तुलनामा केही कम त भएको छ, तर अझैपनि गाउँमा लुकीछिपी बन्यजन्तु शिकार गर्ने क्रम यथावत छ,’ उनले नागरिकसँग भने । कतिपय शिकारीको बन्दुक बरामद गरेकाले कमी आएको दाबी गरे । ‘क्यामेरा ट्रयापिङमै शिकारी परेर समातिएको हुँदा चोरी शिकार अझैपनि हुने कुरालाई पुष्टी गरेको छ,’ पुनले भने ‘चोरी शिकार नियन्त्रणका लागी हामीले निकै प्रयास गरेका छौं, धेरैलाई पक्राउ गरेर मुद्दा पनि चलाईसकेका छौं।’


सेनाको ‘महाहन्ट’ अप्रेशन

चोरी शिकारी नियन्त्रणमा आउन नसकेपछि निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले ‘महाहन्ट’ नामक अप्रशन चलाएको छ । गत पुस १ गतेदेखी सञ्चालित अप्रेशनका क्रममा ठूलो संख्यामा सेना परिचालित भएका छन्। सो अप्रेशनका क्रममा चोरी शिकार र निकुञ्ज क्षेत्रभित्र हुने अन्य गतिविधिमा संलग्न करिव डेढ सय व्यक्तिलाई नियन्त्रणमा लिइएको सैनिक स्रोतले जनाएको छ।

बाघ गणनाका लागि ट्रयापिङ गरिएका क्यामेरा चोरी हुने, घाँस, दाउँरा, खर काट्ने बहानामा वन्यजन्तुको चोरी शिकार हुने क्रम बढेपछि त्यसलाई शुन्यमा झार्न महाहन्ट अप्रेशन चलाइएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले जानकारी दिए। उनका अनुसार निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ गठित युवा समूह र नेपाली सेनाको विशेष फोर्स सम्मिलित ३ वटा टोली परिचालन गरी महाहन्ट अभियान जारी छ ।

निकुञ्जभित्र नियमित गस्ती टोलीले समेट्न नसकेको क्षेत्रमा पुगेर महाहन्ट अप्रेशन चलाएपछि अभियान प्रभावकारी बन्दै गएको सम्बद्ध अधिकारी बताउँछन्। अप्रेशनका लागि सेनाले निकुञ्जको ठाउँ–ठाउँमा स्वचालित क्यामेरा समेत जडान गरेको जनाएको छ। क्यामेराको माध्यमबाट शिकारी तथा अवैध गतिविधी गर्नेको पहिचान गर्न सहज भएको निकुञ्ज प्रशासनले जनाएको छ।

(नागरिक दैनिक)

Next Post

सेवा प्रवाहका लागि रणनीति बनाउदै उप–महानगरपालिका

२१ माघ २०७४, आईतवार १९:०८
सदरलाइनडटकम २१ माघ नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकामा सेवा लिन आउने सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रवाहका लागि नेपालगन्ज उप–महानगरपालिकामा आवश्यक रणनीति बनाउदैछ । नेपालगन्ज उप–महानगरपालिकाले जीआईजेड सीडीमुनको प्राविधिक सहयोगमा आगामी कार्य रणनीति तयार गर्न लागेको हो । समग्र क्षमता विकासमा जोड दिने गरि उप–महानगरपालिकाका प्रमुख, उपप्रमुख, शाखाप्रमुख, वडा अध्यक्ष, कार्यपालिका […]

सम्बन्धित