बाँकेमा शान्तिपूर्वक मतदान सम्पन्न

२१ मंसिर २०७४, बिहीबार २०:०७
 

सदरलाइनडटकम  
२१ मंसिर, नेपालगन्ज : प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा करिब ६८ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाका १३६ मतदानस्थलमा रहेका ३२७ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु गर्ने भनिएपनि विहान सिमसिम पानी परेको कारणले केही समय प्रभावित भएको थियो ।
मुख्य निर्वाचन अधिकृत बिष्णु सुबेदीका अनुसार ६५ देखि ६८ प्रतिशत बाँकेमा मतदान भएको प्रारम्भिक अनुमान गरिएको हो । मतदानको समय साँझ ५ बजेसम्म रहे पनि नेपालगन्जमा मतदान सकिएका मतदान केन्द्रमा मतपेटिका सिल गरी मतगणनास्थल नेपालगन्ज ल्याइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले नेपालगन्ज उपमहानगरपालिकाको केही स्थानमा मतदान सकिएको भए पनि केही वडामा मतदाता लाइनमा रहेकाले अबेर साँझ मतदान सकिएको बताए ।
यस्तै बाँके एक उपमहानगरपालिका, एक नगरपालिका र छ वटा गाउँपालिकामा भएको मतदानको मतपेटिका राती ११ बजेसम्म नेपालगन्ज ल्याईपुराउने बताए । बाँकेको जानकी, खजुरा, कोहलपुर, बैजनाथ र डुडुवा गाउँपालिकाबाट नेपालगन्ज आउन सहज भएकाले अबेर साँझ मतपेटिका आएको भएपनि राप्तीपारीको नरैनापुर र राप्ती सोनारी गाउँपालिकाबाट नेपालगन्ज सदरमुकाम आउन समय लाग्ने भएकाले राती ११ बजे आइ पुग्ने जनाइएको छ ।
बाँकेमा दुई लाख ७६ हजार ६ सय १८ मतदाता रहेका छन् । बाँकेको निर्वाचन क्षेत्र नम्बर १ र ३ मा बाम र लोकतान्त्रिक गठबन्धन तथा क्षेत्र नम्बर २ मा बाम, लोकतान्त्रिक र संघीय समाजवादी फोरमबीच प्रतिष्पर्धा रहेको छ ।
त्यस्तै निर्वाचनको सुरक्षाका लागि सीमा नाका सिल गरिएपछि भारतीय बजार रुपैडिहामा अलपत्र परेका नेपालीहरु पर्किन थालेका छन् । सीमावर्ती भारतीय पत्रकार सन्तोष शुक्लाका अनुसार सीमा सिल भएकाले भारतका बिभिन्न क्षेत्रबाट मजदुरी गरी फर्केका नेपालीहरु भारतीय क्षेत्रमै अलपत्र परेका थिए ।

Next Post

बाँकेमा शुक्रबार बिहान ८ बजेपछि मात्र मतगन्न सुरु गरिने

२१ मंसिर २०७४, बिहीबार २०:०७
सदरलाइनडटकम २१ मंसिर नेपालगन्ज :  बाँकेका सबै निर्वाचन क्षेत्रका मतपेटिका नेपालगन्ज आईनसकेको कारण भोली २२ गते शुक्रबार विहान ८ बजे सर्वदलिय बैठक गरी मत गणना सुरु गरिने भएको छ । बाँकेका मुख्य निर्वाचन अधिकृत विष्णुु सुवेदीले मतपेटी सबै क्षेत्रबाट संकलन गर्ने कार्य जारी रहेको कारण सबै मतपेटीका मत गन्ने ठाँउमा […]