काँग्रेस एमालेको सहकार्यबाट मात्र मुलुकको हित हुन्छ  :  महासचिव पोखरेल

सदरलाइन संवाददाता ४ भाद्र २०८१, मंगलवार १९:४१
 

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रजातन्त्र भित्र समाजवाद र समाजवाद भित्र प्रजातन्त्र खोज्ने प्रवृत्तिको राजनीति भित्र जति बलशाली हुन्छ त्यसले राजनीतिलाई त्यति सही बाटोमा लैजाने बताएका छन् ।

नेपाली कांग्रेका नेता स्वर्गीय प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा मंलबार आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपाली समाज आज जुन प्रकारको चुनौतीबाट गुज्रिएको छ, त्यो नेपाली कांग्रेस र नेकपा एमालेको मात्र सरोकारको विषय नभएको प्रष्ट पारे । राजनीतिक अस्थिरता र सामाजिक अराजकता अहिलेको चुनौती भएको र त्यो सबैको साझा चुनौती भएको उनले बताए ।

राज्य र नागरिक जोडिँदा मात्र देश सही दिशामा अघि बढ्न सक्ने उनले बताए । ‘राज्य नागरिक बिचको अन्तर सम्बन्ध जब गहिरो हुन्छ तब देश बन्द छ, आज नेपाली समाजमा नागरिक र राज्य जोडिन सकेकै छैनन्, जब नागरिक र राज्य जोडिन सक्दैनन्, लोकतन्त्र सफल हुन सक्दैन’, उले भने ।

नेपालको समाज भित्र विद्रोहको चेतले घर गरेकोले जसले विद्रोह र अराजक कुरा गर्दछ त्यसको पछाडि नागरिक लाग्ने गरेका उनले बताए । यसले समाजलाई सही दिशा तर्फ अघि बढाउन नसक्ने उनको धारणा छ ।


एमाले महासचिव पोखरेलले नेपालको संसद् भित्र समेत असमानताले घर गरेको बताए । संसद्मा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर आउनेले आफूलाई क वर्गको ठान्ने र समानुपातिक प्रणालीबाट आउनेलाई अर्कै दर्जाको ठान्ने प्रचलन रहेको उनले बताए । उनले संविधानले व्यवस्था गरेको निर्वाचन प्रणाली नै असमान रहेको दाबी गर्दै भने–‘चुनाव जित्नेहरूले क वर्गको ठान्ने, समानुपातिकले ख वर्गको ठान्ने ।’

समानुपातिक समावेशितालाई सबै सांसदहरू समान हुन् भन्ने ढाँचामा लैजानु पर्दछ भन्ने मान्यता नेपाली कांग्रेस र नेकपा एमाले बिच रहेको र त्यसमा कसैको असहमति हुनु नपर्ने एमाले महासचिव पोखरेलले बताए ।

यस विषयमा कुरा गर्न केपी ओली माओवादी अध्यक्ष पुष्पकमल दाहालकाहा पुगेको र प्रचण्ड सहमतिमा नआएको उनले सुनाए । यदि प्रचण्ड पनि सहमतिमा आएको भए अहिले दुई पार्टी बिच भएको समीकरणमा तेस्रो ठुलो पार्टी पनि मिसिने र देश अर्कै हिसाबले अघि बढ्ने स्थिति आउने पोखरेलले बताए ।

नेपालको राजनीतिलाई विकास र समृद्धिको बाटोमा लैजान स्थिरता आवश्यक रहेको पोखरेलले बताउदै शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री बन्दा पनि एक कार्यकाल बराबरको गर्ने मौका नपाएको जिकिर गरे । कुनै पनि व्यक्तिले आफ्ना नीति तथा कार्यक्रम लागु गर्न कम्तीमा एक कार्यकाल काम गर्नुपर्छ भन्ने मान्यता नेपालको राजनीतिमा स्थापित गर्न नसकिएको उनले प्रष्ट पारे ।

निरंकुशताको विरुद्ध धेरै राजनीतिक दल मिल्दा पनि मिसन एउटै हुने तर, विकास र समृद्धिको लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक रहेको पोखरेलले बताए । त्यसैका लागि नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता समीकरण गरेको पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागढुङ्गा पहिरो  : सडक एकतर्फी खुल्यो

४ भाद्र २०८१, मंगलवार १९:४१
काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ । प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौँ आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई भित्र्याउन शुरु भएको छ । सवारी साधनको लामो लाइन रहेकाले सहज हुन […]

सम्बन्धित