२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

नेपालगन्ज कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी सुत्न बस्न पनि समस्या



सदरलाइनडटकम       
२८ भदौ, नेपालगन्ज : नेपालगन्ज कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी र थुनुवाको कारण सुत्न र बस्नको लागि स्थान अभाव हुन थालेको छ । ३ सय जनाको क्षमता रहेको नेपालगन्ज कारागारमा ५६ महिला सहित ६ सय ५४ कैदी बन्दी र थुनुवा रहेका छन् ।
नेपालगन्ज कारागारका निमित्त जेलर श्याम लामिछानेले कारागारमा कैदीबन्दी र थुनुवा क्षमता भन्दा बढी नै भएको बताए । उनले नेपालगन्ज कारागार अनेत्र जिल्लाको समेत रिफरल कारागार भएको कारणले पनि यहाँ अन्य कैदीबन्दी र थुनुवाको संख्यामा बृद्धि हुने गरेको बताए । उनले भने–‘वरिपरीका जिल्लामा मुद्दा चलेका वा पुर्पक्षको लागि थुनामा रहेका कैदीबन्दी थुनुवाहरु उपचारको लागि नेपालगन्ज कारागार सरुवा भएर आउने कारणले पनि यहाँ चाप हुने गरेको हो ।’
नेपालगन्ज कारागारमा सबै भन्दा बढी लागु औषधको कारोबारी र ओसारपसारमा संलग्न १७९ जना, कर्तव्य ज्यान १६६, बलात्कारको मुद्दामा ७६ कैदी २७ थुनुवा गरी १०३, अपहरण र शरिर बन्धक गरी ४७ जनाले कैदीबन्दी र थुनुवाको रुपमा रहेका छन् ।
निमित्त जेलर लामिछानेले भने–‘कैदी बन्दी र थुनुवाको चाप बढी छ । अहिले पनि भित्र बसेका केही कैदीबन्दीलाई बस्नको लागि स्थान अभाव भएको कारण खुला आकाश मुनी रात विताउन परेको छ ।’
जेलर लामिछानेका अनुसार केही सार्वजनिक अपराधका मुद्दा र पटके चोरीको मुद्दामा जसले एक दुई हजार जरिवाना समेत तिर्न नसकेर सजाय काट्न कारागार पठाउने गर्दा पछिल्लो समयमा कारागारमा थुनुवा र कैदीको संख्यामा बढोत्तरी हुने गरेको छ ।
नेपलगन्ज कारागारमा रहेका कैदी थुनुवा मध्ये ५४ जना गैर नेपाली छन् । उनीहरुमा १ जना पाकिस्तानी २ जना बंगलादेशी र बाँकी ५१ जना भारतीय नागरिक विभिन्न मुद्दामा कैदीबन्दीको रुपमा थुनिएका छन् ।
जेलर लामिछानेले दिएको जानकारी अनुसार एक जना पाकिस्तानी नागरिक र २८ जना भारतीय नागरिक लागु औषध ओसार पासार र कारोवारको मुद्दामा, २ जना बंगलादेशी नागरिक कृर्ते नागरिकता, राहदानी बनाएको मुद्दामा, ३ जना बलत्कार, १ जना मानव बेचविखन, ५ जना कर्तव्य ज्यान, १ ज्यान मार्ने उद्योग, एक महिला सहित ४ अपरहरण र शरिर बन्धक बाँकी ७ जना विविध मुद्दामा थुनामा रहेका छन् ।

प्रकाशित मिति : २०७४ भदौ २८ गते बुधबार
ताजा समाचार