सदरलाइनडटकम
१९ बैशाख, नेपालगन्ज : सडकमा छाडापशुको कारण आवगमनमा अबरोधसंगै सवारी दुर्घटना बढ्न थालेपछि बाँके प्रहरीले सडकमा छाडिएका छाडा पशुहरुलाई नियन्त्रणमा लिएर कान्जी हाउस पुर्याएको छ ।
प्रहरीले गएराती साढे आठ बजेपछि नगरका विभिन्न स्थानबाट छाडा गाई, गोरु, गधा, खच्चड, घोडा लगायतका ४९ वटा पशु नियन्त्रणमा लिएर कान्जी हाउस पुर्याएको थियो । सडकमा रहेका छाडा पशुका कारण दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय बाँकेले पशु नियन्त्रणमा लिएर कान्जी हाउस पुर्याएको हो ।
नेपालगन्जको पुष्पलाल चोक, धम्बोजी चोक, बिपीचोक, त्रिभुवन चोक, फुल्टेक्रा सडक खण्डबाट धपाई फुल्टेक्रा कान्जी हाउस नेपालगन्जको खोरमा बुझाइएको जिप्रका बाँकेका प्रहरी निरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । छाडा पशुका कारण दुर्घटनाको जोखिम बढेको बारे यसअघि समाचार समेत प्रकाशन प्रशारण हुँदै आएको थियो ।
