२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

२ सय ५० नयाँ कुष्ठरोगी बाँके र बर्दियामा थपिए



सदरलाइनडटकम  
२० माघ, नेपालगन्ज : कुष्ठरोग खोजी अभियानले बाँके र बर्दियामा सबैभन्दा बढी कुष्ठरोगी भेटाएको दावी गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले दिएकोे जनाकारी अनुसार कुष्ठरोगी खोजी अभियानको करिव एक हप्ता भित्र बाँकेमा १ सय ३३ जना नयाँ कुष्ठरोगी भेटाएको जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियामा चलाईएको अभियानमा १ सय १७ नयाँ कुष्ठरोगी भेटिएको जनाएको छ । बाँके र बार्दियामा २ सय ५० नायाँ कुष्ठरोगी भेटिएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कुष्ठ क्षयरोग नियन्त्रण फोेकलपर्सन प्रेम केसीले करिव एक हप्ताको खोजी अभियानमा १ हजार ३ सय संभावित कुष्ठरोगी मध्य १ सय ३३ जनामा कुष्ठरोग भेटिएको जानकारी दिए ।
उनले भने–‘बाँकेमा भेटिएका कुष्ठरोगी मध्य ५४ जनामा तत्काल आफ्नो वरीपरिमा रहेकालाई सर्ने कडाखालको लक्षण भेटिएको र ७९ जनामा सर्ने भएपनि अलि ढिलो गरी सर्ने र नरमखालको रहेको पाईएको छ ।’ उनले १७ वर्ष मुनीका २७ जना बालबालिकामा कुष्ठरोगको संक्रमण भेटिएको जानकारी दिए ।
कुष्ठरोगका संक्रमणको दृष्टिले बाँके मुलुककै अत्याधिक कुष्ठरोगी भएको जिल्ला हो । खुला सिमाना, विपन्नता र गरीवीको कारणले अझैपनि कुष्टरोगीहरु रोग लुकाएर बस्ने गर्दा केहीको अंगभंग समेत खतरामा पुगेको कुष्ठरोगी खोजी अभियानका क्रममा भेटिएको फोकलपर्शन केसीले बताए ।
उनले खोजि अभियानमा भेटिएका एकहजार ३ सय मध्येमा व्यक्तिगत सरसफाईका कारण लुतो, दाद तथा अन्य छालाको रोगका संक्रमित भएको र १ सय ३३ लाई मात्र कुष्ठरोग भएको पाईएको भएपनि यो संख्या अझ बढ्न सक्ने आशंका व्यक्त गरे ।
उनले भने–‘व्यक्तिगत सरसफाईका कारण छालाका रोगको संक्रमण संगै कुष्ठरोगी बढी भेटिएका छन् । जातिय आधारमा मधेशी, मुस्लिम, दलित समुदायमा कुष्ठरोगीहरु बढी भेटिएका छन् ।’ उनले यो तथ्याङ्क अझ बढ्न सक्ने बताए । ‘खुला सीमा भएकोले केही केही बिरामी लोकलाजको कारण देखाउदै शिविर वा गाउ नजिकको स्वास्थ्य चौकीहरुमा सम्पर्कमा नआउने भएकोले संख्या बढ्न सक्ने हाम्रो आशंका रहेको छ’–उनले भने ।
जिल्ला स्वास्थ्य कार्यालय बार्दियाका कुष्ठ क्षयरोग फोकलपर्सन जीवन रजौरेले बर्दियामा चलाईएको खोजि अभियानमा १ हजार ५ सय ९४ जना मध्येबाट १ सय १७ जनामा कुष्ठरोग देखिएको हो ।
यसमा छोटो समयमा ठिक हुने ९० जना र लामोसमय लाग्ने २७ जना विरामी रहेको र ती मध्ये ९ जना १४ वर्ष मुनीका बालबालिका रहेको उनले बताए ।
‘समयमा नै कुष्ठरोगको उपचार गरौं अपाङ्गता हुनबाट बचौं’ भन्ने मूल नाराका साथ मनाईएको ६४ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले सञ्चालन गरेको खोजी अभियानका क्रममा बाँकेमा देखिएको तथ्याङ्कले कुष्ठरोग निवारणमा निकै चुनौती देखिएको मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक रीता भण्डारी जोशीले बताईन ।
उनले बढी कुष्ठरोगको संक्रमण भएको मुलुक कै पहिलो बाँके र तेस्रो जिल्ला बर्दिया भएको तथ्याङ्कले देखाएको प्रसंग उल्लेख गर्दै भनिन–‘बाँके र बर्दिया कुष्ठरोगीको संख्याले पहिलो र तेस्रो सबैभन्दा बढी संक्रमित भएको जिल्लाको रुपमा भेटिएको छ । यो सबैभन्दा ठूलो चुनौती पूर्ण हो ।’ क्षेत्रीय निर्देशक रिताले मध्यपश्चिमका १५ वटा जिल्ला प्रतिहजारमा १ दशमलभ १४ प्रतिशतलाई कुष्ठरोग भए पनि बाँकेमा २ दशमलभ ९६ प्रतिशत र बर्दियामा २ दशमलभ ७६ प्रतिशत नयाँ कुष्ठरोगको संक्रमण देखिएको जानकारी दिईन ।

प्रकाशित मिति : २०७३ माघ २० गते बिहीबार
ताजा समाचार