खजुराले गाउँपालिकाको केन्द्र टुङ्ग्यायो

८ फाल्गुन २०७५, बुधबार १८:५५
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाको चौथो गाउँसभाले गाउँपालिकाको केन्द्रको टुंगो लगाएको छ । गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बुधवार बसेको चौथो गाउँसभामा मतविभाजन प्रक्रियाबाट केन्द्रको टुंगो लगाइएको हो ।
वडा नं. ३ स्थित नेरा प्रावि बी गाउँमा रहेको ४ विगाहा बढी क्षेत्रफल जमिनमा गाउँपालिकाको केन्द्र राख्ने गरी दुईतिहाई सदस्यले सभाबाट पारित गरेका हुन् । गत माघ १५ गतेदेखि शुरु भएको चौथो गाउँसभामा केन्द्रको विषयमा विवाद आएपछि वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खाँको नेतृत्वमा वडाध्यक्षहरु सहभागी रहेको कार्यदल बनाइएको थियो ।
फागुन १ गतेसम्म बैठक स्थगित भएकोमा कार्यदलले पुनः समय माग गर्दै कार्यदलमा राजनीतिक सहल्लाहकार भीम वली, कानूनी सल्लाहकार विकास आचार्य र विज्ञ समूह सदस्य पूर्णचन्द्र उपाध्यायलाई थप गरेपछि कार्यदलले बुधवार बसेको बैठककमा प्रतिवेदन प्रस्तुत गरेको थियो ।
त्यसपछि वडा नं. २ का वडाध्यक्ष देविलाल शर्माले बी गाउँमा केन्द्र तोक्ने प्रस्ताव, वडा नं. ४ का वडाध्यक्ष तिलकवीर सुनारले यथास्थानमा र वडा नं. ५, ८ का वडाध्यक्ष क्रमश ः देवेन्द्रमान श्रेष्ठ र फिरोज खानले क गाउँमा केन्द्र तोक्ने विषय अघि सारेपछि मतविभाजन प्रक्रियाबाट टुंग्याइएको थियो । उपप्रमुख एकमाया विकले सभामा खजुरा गाउँपालिकाको केन्द्र बि गाउँमा तोक्नका लागि हुन्छ भन्नेले हुन्छ र हुन्न भन्नेले हुन्न भनेर मतविभाजन गराएपछि दुईतिहाई सदस्य हुन्छ भन्ने पक्षमा देखिएपछि केन्द्र बि गाउँमा टुंगो लागेको थियो ।
चौथो गाउँसभाले वडा नं. ४ मा फुटबल मैदान र क गाउँमा इलाका प्रशासन राख्ने गरी पारित गरेको छ । सभामा खजुरा गाउँपालिका प्रमुख कक्षपतिले नयाँ तोकिएको केन्द्रमा भवन निर्माणका लागि १ करोड रुपैयाँ छुट्याउन राखेको प्रस्ताव सभाले पारित गर्यो । अध्यक्ष कक्षपतिले खजुरा गाउँपालिकामा आवश्यकताको आधारमा योजनाहरु छनौट भई लागू हुने गरेको बताए । सभामा वडा सदस्यहरु डिल्लीप्रसाद आचार्य, इस्मत अलि साई, समसुल्ला पठानीले पनि आफ्नो राय राखेका थिए भने निशार अलि खाँले कार्यदलको प्रतिवेदन पढेर सुनाएका थिए । केन्द्रको टुंगो लगाएसंगै चौथो गाउँसभा सम्पन्न भएको छ ।

Next Post

प्रादेशिक महोत्सवको तयारी तीब्र

८ फाल्गुन २०७५, बुधबार १८:५५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सडक डिभिजन परिसर कारकाँदोमा हुन लागेको प्रादेशिक महोत्सवमा चर्चित कलाकारहरुको सहभागिता रहने भएको छ । महोत्सव साँस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहका अनुसार लोकदोहोरी तर्फ गायक रामजी खाँड, बद्री पंगेनी, प्रकाश सपुत आउने भएका छन् । […]