मानव बेचबिखन : निवेदन आएपनि खोज्ने कसले ?

सदरलाइन संवाददाता २१ भाद्र २०८०, बिहीबार १५:०१
 

नेपालगञ्ज : सरकार र संघ संस्थाले हरेक वर्षको भदौ २० गते तामझामका साथ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउँछन् । यो वर्ष ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण मानव बेचबिखन निर्मूलन’ भन्ने नाराका साथ दिवस मनाइयो । नारा हरेक वर्ष परिवर्तन हुने गर्दछ ।

जतिजति बृहद्ध् र नयाँ तरिकाले दिवस मनाइँदै छ, त्यसैगरी घरपरिवारको सम्पर्क नरहने अर्थात् हराउने (जोखिममा पर्ने)को संख्या बढ्दो रहेको छ । मेरो मान्छे हराएकाले खोजतलास तथा उद्धार गरी पाऊँ भन्नेको निवेदन बढ्ने क्रममै देखिन्छ ।

नेपालगञ्जको नाकामा रहेको माइती नेपाल, नेपालगञ्जमा आर्थिक वर्ष २०७९/८० मा ६ सय ६८ जनाले खोजतलास तथा उद्धारका लागि निवेदन दिएका छन् । त्यसमा २ सय २२ जना फेला परेका छन् । बाँकी कहाँ गए ? के गरिरहेका होलान् ? केही अत्तोपत्तो छैन ।

माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार खोजतलास तथा उद्धारको निवेदन परेको ६ सय ६८ जनामा बाँकेको १ सय ७०, सुर्खेतको ८९, बर्दियाको ८०, दाङको ७८, जाजरकोटको ५५, दैलेखको ४९, सल्यानको ४२ वटा रहेका छन् ।

खोजतलास र उद्धारका लागि माइती नेपालसँगै प्रहरीमा निवेदन पर्छ । उद्धार भने हुन सकिरहेको छैन । संघ–संस्थाले आफैं समन्वय गरेर खोजतलास र उद्धार गरेका छन् । राज्यबाट उद्धार गर्ने संयन्त्र छैन । ‘मेरो मान्छे खोजिदेऊ, उद्धार गरिदेऊ’ भने पनि राज्यसँग प्रभावकारी संयन्त्र नहुँदा उद्धार हुन सकिरहेको छैन । खासमा खोज्ने र उद्धार गर्ने कसले भन्ने प्रश्नमाथि नै उठ्ने गरेको छ ।

माइती नेपालले यो वर्ष भारतबाट १५ जनाको उद्दार गरेको छ । जसमा बर्दियाका ५, दोलखाका ३, सुर्खेत र दैलेखका २–२, दाङ, बाँके र डडेल्धुराका एक–एक जना रहेका छन् ।


कोइरालाले खोजतलासका निवेदन आएकामध्ये ८० प्रतिशत नेपाल र भारत तथा २० प्रतिशत खाडी मुलुकको रहेको जानकारी दिए । कतिपय चाहिं घरपरिवारको सल्लाहमा गए पनि विदेशमा नराम्रो काममा परेपछि उद्धारका लागि गुहार माग्ने र घरपरिवारले प्रहरी र संघ–संस्थामा उद्दारको निवेदन दिने गरेको पाइन्छ ।

सामाजिक न्याय र आर्थिक सशक्तिकरण भन्ने यो वर्षको नाराले मानव बेचबिखनको खास कारण देखाउँछ । आत्मसम्मान, आर्थिक मजबुतीका लागि महिला तथा युवती जोखिमपूर्ण यात्रामा निस्किने गरेका छन् । उनीहरू दलालले प्रलोभनमा पारेको भरमा घरपरिवारलाई छोडेर निस्किन्छन् । जुन जोखिमको कारण बन्ने गर्दछ ।

नेपालगञ्ज नाकामा यो आर्थिक वर्षमा ५ सय ३ जनालाई फिर्ता पठाइयो । कामदामका लागि भारततर्फ गइरहेका उनीहरूलाई नाकाबाट माइती नेपाल र प्रहरीले फिर्ता गरेका थिए । यी फिर्ता भएकामध्ये धेरैलाई कुन ठाउँमा, के कामका लागि जाँदैछु भन्नेसम्म थाहा थिएन ।

बाँकेका ८४, सुर्खेतका ८८, दाङका ५५, बर्दियाका ५१, सल्यान र दैलेखका ३१–३१ जना, जाजरकोटका १९, रोल्पाका ११ जनालाई नेपालगञ्ज नाकाबाट फिर्ता गरिएको थियो । उनीहरूलाई नाकामा रोकेर सोधपुछ गर्दा जोखिममा पर्ने सम्भावना देखिएकाले फिर्ता गरिएको माइती नेपाल, नेपालगञ्जका संयोजक कोइरालाले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा ६ सय ९३ जनाको घरपरिवारले खोजतलास तथा उद्धारका लागि निवेदन दिएका थिए । त्यसमध्येमा बाँके जिल्लाको १ सय ५७ जना थिए । यो वर्ष जोखिमपूर्ण यात्रामा निस्केका ५ सय २९ जनालाई नेपालगञ्ज नाकाबाट फिर्ता गरिएको थियो । त्यसमा ८२ जना बाँके जिल्लाका थिए ।
यो आवमा भारत तथा खाडी मुलुकबाट ९ जनाको उद्धार गरिएको थियो । जसमा बाँकेका ५ जना थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्वजनिक शौचालयबारे राप्रपा नेपालको ध्यानाकर्षण

२१ भाद्र २०८०, बिहीबार १५:०१
कोहलपुर (बाँके) : राप्रपा नेपाल कोहलपुर नगर समितिले कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यलाई एक विज्ञप्ति जारी गर्दै कोहलपुर चौराहामा रहेको सार्वजनिक शौचालयका विषयमा ध्यानाकर्षण गराएको छ । राप्रपा नेपालका नगर अध्यक्ष प्रमातकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोहलपुर नगरपालिकाको मुख्य आकर्षण चौराह र मुल चोकमै बाँके युनेस्को क्लवको सहयोगमा निर्मित अत्याधुनिक […]

ताजा अपडेट