
नेपालगञ्ज : सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा संयुक्त राष्ट्रसंघको सार्वजनिक प्रशासनसम्बन्धी विशेषज्ञ समिति (सिईपीए ) को २५औँ सत्रमा सहभागिता जनाउन न्यूयोर्क प्रस्थान गर्ने भएका छन् ।
सो सहभागिताले अन्तर्राष्ट्रिय नीति निर्माणको महत्वपूर्ण मञ्चमा दक्षिण एसियाली पत्रकारहरूको उपस्थिति बलियो बन्दै गएको छ । आगमी अप्रिल १३ देखि १७ सम्म हुने उक्त सत्रमा अध्यक्ष लामाको सहभागिताले विश्वव्यापी शासन, पारदर्शिता र दिगो विकासका विषयमा दक्षिण एसियाली दृष्टिकोण प्रस्तुत हुने अपेक्षा गरिएको छ ।
सिईपीए सत्रलाई सार्वजनिक प्रशासन र शासन सुधारका क्षेत्रमा संयुक्त राष्ट्रसंघको प्रभावशाली प्लेटफर्मका रूपमा लिइन्छ, जहाँ विश्वभरका नीति निर्माता, विज्ञ र संस्थागत नेतृत्वहरू एकत्रित भई अन्तर्राष्ट्रिय मापदण्ड र नीति दिशानिर्देशन तय गर्छन् ।

यस्तो उच्चस्तरीय मञ्चमा एक पत्रकार नेताको सहभागिताले मिडियाको भूमिका केवल समाचार सम्प्रेषणमा सीमित नभई नीति संवादमा समेत विस्तार हुँदै गएको संकेत गरेको छ ।
सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले स्वतन्त्र पत्रकारिता र सीमापार सहकार्यले लोकतान्त्रिक शासनलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै मिडियालाई विश्वव्यापी नीति प्रक्रियासँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
विशेषज्ञहरूका अनुसार सिईपीए जस्ता फोरममा मिडियाको सक्रिय उपस्थिति बढ्नुले पारदर्शिता, जवाफदेहिता र समावेशी विकासलाई थप मजबुत बनाउन मद्दत पुग्नेछ ।

