
बर्दिया : रोजगारी अभाव र वैदेशिक पलायनको दबाब बढिरहेका बेला बर्दियामा युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने प्रयास सुरु गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बाँके यूनेस्को क्लबले ‘सपना सजाइली, योजना बनाइली, पैसा कमाइली’ कार्यक्रममार्फत युवालाई उद्यमशीलतामा जोड दिएको हो ।
जिल्लामा अधिकांश युवा अनौपचारिक रोजगारी वा वैदेशिक श्रममा निर्भर भइरहेका बेला सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीय स्तरमै आयआर्जनका अवसर खोज्न प्रेरित गरेको छ ।
पाँचदिने ‘युवा उद्यम विकास तालिम’मा सहभागी युवाहरूलाई व्यवसाय सुरु गर्न आवश्यक सीप र ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ ।

तालिममा सहभागीहरूले बजार विश्लेषण, व्यवसाय योजना, लागत तथा मूल्य निर्धारणदेखि डिजिटल प्रचारप्रसार र कानुनी प्रक्रियासम्मका विषयमा ज्ञान हासिल गरेका छन् । साथै, व्यवहारिक अभ्यासमार्फत सुँगुर र बाख्रा पालनजस्ता व्यवसायिक सम्भावनामा पनि अभ्यास गराइएको थियो ।
विशेषगरी युवतीहरूको उच्च सहभागिताले महिलामा उद्यमशीलता विकासको सम्भावना देखाएको छ । ४९ सहभागीमध्ये ४५ जना महिला हुनु उल्लेखनीय रहेको आयोजकले जनाएको छ ।
बर्दियामा कम उत्पादनशील कृषि, ज्यालादारी श्रम र विप्रेषणमा निर्भर अर्थतन्त्रका कारण रोजगारीका अवसर सीमित छन् । यस्तो अवस्थामा उद्यमशीलता प्रवद्र्धनलाई दीर्घकालीन समाधानका रूपमा हेरिएको छ ।
कार्यक्रमका वक्ताहरूले युवालाई विदेश जानुभन्दा स्वदेशमै अवसर सिर्जना गर्न आग्रह गरेका छन् । उनीहरूका अनुसार यस्ता तालिमले युवामा आत्मविश्वास बढाउने मात्र होइन, स्थानीय अर्थतन्त्र मजबुत बनाउन पनि सहयोग पुग्नेछ ।



