समाचार सारांश
- नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ, जसमा १५ जना महिला अनिवार्य रूपमा समावेश गरिएको छ।
- पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संघीय संसद्मा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न विभिन्न समावेशी क्लस्टर मिलाएर सांसद चयन गरिएको हो।
- निर्णय गरिएको नामावली आइतबार नै निर्वाचन आयोगमा बुझाइने र आयोगले रुजु गरेपछि सार्वजनिक गरिने जनाइएको छ।

नेपालगञ्ज : नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदको नाम टुङ्ग्याएको हो ।
कांग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्ने छ । सोहीअनुसार सांसद छानिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उनले सङ्घीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्ने भएकाले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेको बताए । उनले विभिन्न क्लस्टर मिलाएर समानुपातिक सांसद छानिएको र आइतबार नै निर्वाचन आयोगमा नामावली बुझाइने जानकारी दिए ।

प्रवक्ता चालिसेका अनुसार आदिवासी जनजातिबाट ६, खसआर्यबाट ६ र थारू, दलित, मधेसी, मुस्लिम तथा पिछडिएको क्षेत्र बाँकी मिलाएर अन्य सांसद चयन गरिएको छ । १५ जना अनिवार्य महिला र बाँकी सबै समावेशी समूह मिलाएर सांसद चयन गरिएको उनले जानकारी दिए ।
उनले भने, ‘सङ्घीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्छ । राष्ट्रिय सभासहित सबै हिसाब गर्दा अहिले हामीले २० जना प्रतिनिधि छान्दा १५ जना महिला अनिवार्य छ । आदिवासी जनजाति, खसआर्य र अन्य क्लस्टर मिलाएर हामीले नामावली निर्णय गरिसकेका छौँ ।’
प्रवक्ता चालिसेले बन्दसूचीमा आधारित भएरै निर्णय गरिएको र आयोगले रुजु गरेपछि नामावली सार्वजनिक हुने बताए । उनले निर्वाचनको समीक्षाका लागि केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाइने जानकारीसमेत दिए ।


