समाचार सारांश
- फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा बाँकेका ५६ उम्मेदवारमध्ये ४७ जनाले जमानत जोगाउन सकेनन्।
- कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ।
- तीन जना विजयी र थप ६ जनाले मात्र आवश्यक मत ल्याएर जमानत जोगाउन सफल भएका छन्।

नेपालगञ्ज : गत फागुन २१ गते सम्मन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाले बचाउन सकेनन आफ्नो जमानत ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार यस पटक बाँकेका ४७ उम्मेदवारले आवश्यक मत सङ्ख्या पु¥याउन नसक्दा धरौटी रकम (जमानत) गुमाएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार यस पटक विजयी हुने र जमानत जोगाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवार मात्र छन् । तीनवटै क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र राप्रपाका उम्मेदवारको समेत धरौटी जफत भएको हो ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले ५६ उम्मेदवारमध्ये तीन जना विजयी भएको र अन्य ६ जनाले मात्र जमानत जोगाउन सफल भएको बताए ।


