समाचार सारांश
- बाँकेमा फागुन महिनामा ३३ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु र ४६ जना घाइते भएका छन्।
- अधिकांश दुर्घटना तीव्र गतिका कारण भएका छन् भने चालकको लापरवाही, मादक पदार्थ सेवन र छाडा चौपायाले पनि दुर्घटना बढाएको देखिएको छ।
- ट्राफिक प्रहरीले कडाइ र सचेतना कार्यक्रम बढाए पनि नियम उल्लङ्घन जारी रहँदा १,६४१ सवारी कारबाहीमा परेका छन्।

कोहलपुर (बाँके) : बाँकेमा एक महिनाको अवधीमा ३३ वटा सवारी साधन दुर्घटना भएका छन । सो दुर्घटनामा परेर चार जनाको मृत्यु हुनुको साथै ४६ जना घाइते भएको जिल्ला ट्राफिका कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको फागुन महिनाको प्रतिवेदनमा एक महिनाको अवधीमा जिल्लामा ३३ वटा सवारी दुर्घटनाको घटनामा ४८ वटा सवारी साधन दुर्घटनामा परेको जानकारी गराइएको छ ।
मासिक प्रहरी प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले फागुन महिनामा ३३ वटा सवारी दुर्घटना भएको जनाउँदै ती दुर्घटनामा परेर चार जनाको मृत्यु भएको र ४६ जना घाइते भएको बताए ।
उनले जिल्लामा भएका दुर्घटनाको अध्ययन र विश्लेषण गर्दा अधिकांश दुर्घटना तिव्र गतिमा सवारी साधन चलाएकै कारण भएको देखिएको जनाउँदै २४ वटा दुर्घटना तीव्र गतिका कारण भएको पाइएको बताए ।

सोही प्रकारले चालकको लापरवाहीले छ वटा, मादक पदार्थ सेवन गरेका कारण एउटा र छाडा चौपायाका कारण पनि एउटा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चेतनामूलक कार्यक्रमसँगै चेकजाँचलाई कडा पार्दै गए पनि तीव्र गतिमा सवारी साधन चलाउने क्रम नरोकिएको हुँदा दुर्घटना न्यूनीकरणमा समस्या भएको बाँकेका प्रहरी प्रवक्ता पातलीले बताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार फागुन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६ सय ४१ वटा सवारी साधनमाथि कारबाही गर्दा १३ लाख ८२ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनक शाहीले तीव्र गतिमा सवारी चलाउने तथा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको कारण दुर्घटना भएको पाईएपछि उनीहरु माथि निगरानी बढाइएको बताए ।
उनले ट्राफिक प्रहरीले दैनिकजसो जिल्लाका विभिन्न स्थानमा चेतनामूलक कार्यक्रम गरेर ट्राफिक नियमसँगै गति र अन्य सम्भावित जोखिम बारे जानकारी गराउँदै आएको पनि बताए ।


