समाचार सारांश
- एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले बाँके क्षेत्र नं. २ बाट विजयी भएमा क्षेत्र र समग्र बाँकेको उल्लेख्य विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
- उनले वडा नं. १ धम्बोझीमा आफू सांसद तथा मन्त्री हुँदा वाटरपार्क, चिल्ड्रेन पार्क, ब्याडमिन्टन कोर्ट र सडकजस्ता आयोजना सम्पन्न गरेको दाबी गरे।
- राईले आफ्नो कार्यकाललाई अरूकोसँग तुलना गर्न आग्रह गर्दै शहीद युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका र घरदैलो कार्यक्रमसमेत गरेका छन्।

नेपालगञ्ज : एमालेबाट बाँके निर्वाचन क्षेत्रनंं २ प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूलाई विजयी बनाएमा आफ्नो क्षेत्रसंगै समग्र बाँकेको विकासमा उल्लेख्य काम गर्नसक्ने विश्वास झनै बढेर आएको बताएका छन् ।
बुधबार (आज) नेपालगञ्ज वडानं १ धम्बोझीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उम्मेदवार राईले आफ्नो काम गराईलाई वडा नं १ ले राम्ररी महसुस गरेको पनि दाबी गरे ।
उनले आफू सांसद र मन्त्री छँदा वडा नं १ मा कार्यान्वयन गरेका आयोजनाहरूको दृष्टान्त दिँदै वडा नं १ ले सबैभन्दा धेरै माया गर्ने मध्येको एक वडा भएको बताए ।

‘यहाँका वडाध्यक्ष र म पहिले फरक पार्टीमा थियौं, विचारधारा पनि फरक थियो । तर आफ्नो ठाउँको विकासको सवालमा भने हाम्रो कुरा मिल्यो । उहाँ पनि काम गर्न चाहने मान्छे, म पनि । हामीले यो वडामा वाटरपार्क, चिल्ड्रेन पार्क, ब्याडमिन्टन कोर्ट, भवनहरू निर्माण अनि बाटोघाटो बनाउन मिलेर काम ग¥यौं’ उम्मेदवार राईले भने, ‘फेरि पनि मलाई जिताउनुभयो भने म यहाँको मुहार फेर्नका लागि विकास निर्माणका थुप्रै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
पछिलो ३ वर्ष प्रतिनिधसभामा बाँके क्षेत्र नं २ को भूमिका विर्सनलायक रहेको राईको भनाई थियो । उनले आफ्नो कार्यकाल र अरूको विगतको कार्यकाल तुलना गरेर मूल्यांकन गर्न पनि मतदाताहरू समक्ष आग्रह गरे ।
उनले आफू विगतमा सानो पार्टीमा हुँदा समेत बाँकेमा उल्लेख्य विकास निर्माणका आयोजनाहरू ल्याउन सफल भएको बताउदै भने, ‘अहिले त म नेकपा एमालेबाटै उम्मेदवार छु । अध्यक्ष केपी ओलीको नेतृत्वमा मन्त्री छँदा त काम गर्न सकें भने अब यहीँ नै आएपछि झन कति काम गर्न सक्छु होला ! तपाइँहरूले बुझ्नुभएकै छ ।’
उम्मेदवार राईले कार्यक्रममा जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका धम्बोझीका २ युवाप्रति श्रद्धान्जली व्यक्त गर्दै उनीहरूको सम्मानमा आफूबाट हुनसक्ने सहयोग गर्न इच्छुक रहेको पनि बताए । शहीद युवाहरूको सम्मानमा शहीद गेट र शालिक बनाउने वडा नं १ को कार्यक्रमको सह्राना पनि राईले गरेका थिए । त्यस्तै उम्मेदवार राईले आजै वडा नं १ धम्बोझीमा घरघरै पुगेर मतदाताहरूसँग भेटघाट गरेका थिए ।


