समाचार सारांश
- बाँकेको नरैनापुर गाउँपालिकाले ६ करोड ८० लाखभन्दा बढी लागतमा निर्माण सम्पन्न प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।
- निर्माण व्यवसायीको ढिलासुस्तीका कारण दुई वर्षअघि नै सञ्चालनमा आउनुपर्ने भवन समयमै पूरा नभएपछि गाउँपालिकाले अस्थायी रूपमा वडा कार्यालयबाट सेवा दिँदै आएको थियो ।
- नयाँ, सुविधासम्पन्न भवन सञ्चालनमा आएपछि नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएसँगै पालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बुधबार नवनिर्मित भवनको उद्घाटन गरेसँगै सम्पूर्ण सेवा सोही भवनबाट दिन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताए।
उनका अनुसार दुई वर्षअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आउनुपर्ने भवन निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै सञ्चालनमा आउन सकेको थिएन । पटक–पटक म्याद थप हुँदा पनि काम नसकिएपछि गाउँपालिकाले वडा कार्यालयबाट अस्थायी रूपमा कार्यसम्पादन गर्दै आएको थियो ।

नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह सहज हुने अपेक्षा स्थानीय बासिन्दाले गरेका छन् । भवन उद्घाटनपछि बोल्दै गाउँपालिका अध्यक्ष शाहले ढिलै भए पनि आफ्नै भवनबाट जनतालाई सेवा दिन पाउँदा खुसी लागेको बताए। उनले भने, “यसअघि साविकको नरैनापुर गाविस कार्यालयबाट सेवा दिँदा स्थान अभावले समस्या हुने गरेको थियो, अब नागरिकले सुविधासम्पन्न भवनबाट सहज रूपमा सेवा पाउने छन् ।”
गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत भरत बस्नेतका अनुसार ६ करोड ८० लाख ३१ हजार रुपियाँको लागतमा उक्त प्रशासनिक भवन निर्माण गरिएको हो । भवन निर्माणमा सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको छ ।
गाउँपालिकाका सूचना अधिकारी एवं वडा अध्यक्ष लक्ष्मीकान्त मिश्रले नयाँ र सुविधासम्पन्न भवनबाट सेवा सुचारु भएपछि सेवाग्राहीलाई धेरै सहज हुने विश्वास व्यक्त गरे ।


