राप्ती नदीतट सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था

सदरलाइन संवाददाता ३० पुष २०८२, बुधबार १८:०४
 

नेपालगञ्ज : नेपाल एसोसिएसन अफटुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले नेपाल पर्यटन बोर्ड र स्थानीय डुडुवा गाउँपालिकासँगको साझेदारीमा राप्ती नदीतटमा मकर स्नानको विशेष व्यवस्था गरेको छ ।

बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकरस्नानको विशेष व्यवस्था गरिएको नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले जानकारी दिए ।

अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको बैठकले बुधबार राति राप्ती नदीको सिधनियाघाटमा भजन–कीर्तनलगायतका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सो संस्थाका महासचिव भागीराम ओलीले बताए ।

उनका अनुसार, माघ १ गते बिहान भक्तजनलाई डोरी लगाएर सुरक्षित र व्यवस्थित रूपमा राप्ती नदीमा स्नान गराइने व्यवस्था गरिएको छ ।


कार्यक्रमलाई धार्मिक र सांस्कृतिक महत्वका साथै पर्यटकीय आकर्षणको रूपमा थप प्रभावकारी बनाउन राप्ती नदी किनारमा सार्वजनिक शौचालय निर्माण र अस्थायी चेन्जिङ रुम निर्माण गरिएको महासचिव ओलीले बताए  । उनले यसले आगन्तुक भक्तजनलाई सुविधा र सहजता प्रदान गर्ने बताए ।

माघमा मकरस्नान हिन्दू धर्मावलम्बीका लागि विशेष धार्मिक महत्त्व बोकेको दिन भएकाले धार्मिक विश्वासअनुसार मकर स्नानले सबै प्रकारका पापबाट मुक्ति दिलाउने जनआस्था छ । बाँके जिल्लामा पहिलोपटक व्यवस्थित रूपमा मकरस्नान कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य धार्मिक पर्यटन प्रवर्धन गर्नु रहेको नाट्टा बाँकेले जनाएको छ ।

सो स्नान व्यवस्थापनमा स्थानीय सरकार, पर्यटन व्यवसायी, धार्मिक सङ्घसंस्था र सर्वसाधारणको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ । नाट्टा बाँके च्याप्टरले यस कार्यक्रममार्फत बाँकेलाई धार्मिक तथा पर्यटन गन्तव्यको रूपमा चिनाउने लक्ष्य लिएको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा घरेलुको मेला सुरु

३० पुष २०८२, बुधबार १८:०४
नेपालगञ्ज : नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा आठौ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, प्रर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ नेपालगञ्ज सडक डिभिजन परिसर नेपालगञ्ज […]