
नेपालगञ्ज : निर्वाचन आयोगका आयुक्त डा.जानकीकुमारी तुलाधरले भयरहित निर्वाचनको बताबरण बनाउन आग्रह गरेकी छन् । उनले आवधिक निर्वाचन नै लोकतन्त्रको आत्मा भएको बताउदै निर्वाचनमा सबैले आफ्नो मताधिकार प्रयोग गर्ने बताबरण निर्माणमा जोड दिईन ।
नेपालगञ्जमा निर्वाचन आयोगद्वारा फागुन २१ लक्षित प्रतिनिधि सभा निर्बाचनमा खटिने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन अधिकारीका लागि आयोजित निर्वाचन व्यवथापनसम्बन्धी दुईदिने अभिमुखीकरणको समापन गर्दै उनले यस्तो बताएकी हुन ।
उनले संविधानले सुनिश्चित गरेको सार्वभौमसत्ता जनतामा निहीत हने सिद्धान्तलाई व्यहारमा उतार्ने सबैभन्दा सशक्त माध्ययम नै निर्वाचन भएको उल्लेख गर्दै भय रहित बाताबरणमा निर्वाचन सम्पन्न गराउने दायित्व हाम्रै भएकोले एक किसिमको बतावरण समेत निर्माण गर्न आवश्यक रहेको औल्याईन ।

निर्बाचन आयुक्त डा. तुलाधरले निर्वाचनलाई सफल बनाउने दायित्व निर्वाचन अधिकृतहरूको भएकाले प्रशिक्षण कार्यक्रमले निर्वाचनका कानुनी, प्राविधिक, प्रशासनिक पक्षको आवश्यक ज्ञान, सीप, साझा बुझाइ विकास गर्न टेवा पुगेको विश्वास व्यक्त गरिन ।


कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सुरक्षाको समन्वय गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको भएको उल्लेख गर्दै बाँकेमा निर्वाचनको प्राविधिक तयारी भइहेको जानकारी दिए ।

कार्यक्रममा सहभागिका तर्फबाट अशोक कुमार बस्नेत मुख्य निर्बाचन अधिकृत रुपन्देही र हाश्चिन्द्र जोशी जिल्ला निर्वाचन अधिकारी कन्चनपुरले अभिमुखिकरणले आफुहरुको कार्यक्षेत्रमा ठूलो टेवा पुग्ने बताएका थिए ।
अभिमुखीकरणमा लुम्बिनी, सुदूरपश्चिम, कर्णाली प्रदेशका २७ जिल्लाका ६६ जना मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारीको सहभागिता रहेको थियो । यसअघि नमुना मतदानको अभ्यास गरिएको थियो ।


