
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार बस्दैछ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन ।
बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी महामन्त्रीद्वयले यही पुस २७ र २८ गते दुई दिन काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेका छन् ।

भृकुटीमण्डपको हल समेत बुकिङ गरिसकिएको नेताहरुले बताएका छन् । यसअघि कांग्रेस केन्द्रीय समितिले पुस २६ गतेदेखि १५ औं महाधिवेशन गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका तय गरेको थियो ।
त्यसअनुसार वडा र पालिका अधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन बोलाएका हुन् ।


