बाँकेका डुडुवामा प्रेमीलाई प्रेमिकाको हत्या आरोप

सदरलाइन संवाददाता १४ माघ २०८२, बुधबार १९:४१
 

नेपालगञ्ज :  बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीमा एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उनको हत्या गरिएको तथ्य खुलेको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार इनारमा सडेको अवस्थामा भेटिएको शव डुडुवा गाउँपालिका–३, वनकट्टी गाउँ निवासी २१ वर्षीया बसन्ती गोडियाको रहेको र हत्या उनको प्रेमी सोही गाउँ निवासी २५ वर्षीय राकेश बर्माले गरेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले डुडुवा–३ स्थित रामफेरन कुर्मीको घर पछाडि रहेको झाडीभित्रको इनारमा सडेगलेको अवस्थामा पहिचान नखुलेको शव फेला परेकोमा सोधखोज गर्दा सोही गाउँ निवासी पाँचु गोडियाकी २१ वर्षीया छोरीको शव रहेको पुष्टि भएको जानकारी दिए ।

उनले प्रहरी अनुसन्धानका अनुसार बसन्ती गोडियाको शव सडेगलेको अवस्थामा फेला परेकाले घटना करिब एक महिनाअघि घटेको हुनसक्ने अनुमान गरिएको जनाउँदै पोस्टमार्टम रिपोर्टमा मृतकको टाउको र घाँटीको विभिन्न भागमा चोट लागेको देखिएकाले उनको हत्या गरिएको पुष्टि भएको बताए ।


जिल्ला प्रहरी कार्यालयका अनुसार कुनै महिला हराएको औपचारिक उजुरी प्रहरीमा नआए पनि गाउँघर र घटनास्थल आसपास बुझ्दा बसन्ती केही समयदेखि भारतको नानपारास्थित मामाघर गएको भनिएको थियो ।

प्रहरी अनुसन्धानबाट बसन्ती गोडिया पुस १ गते मङ्गलबार रातिदेखि सम्पर्कविहीन भएको र सोही दिनदेखि घरमा समेत नफर्किएको तथ्य खुल्न आएको छ । गाउँघर छरछिमेक र विभिन्न सूचनाको आधारमा अनुसन्धान गर्दा मृतकको छिमेककै युवक बर्मासँग प्रेम सम्बन्ध रहेको खुलेको छ ।

सो बारेमा अनुसन्धान गर्दा प्रेम सम्बन्धमा खटपट भएको कारण योजनाबद्ध रूपमा बर्माले गोडियाको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनास्थलको अवस्था, पोस्टमार्टम रिपोर्ट, बर्माको साविति बयानबाट प्रेममा भएको खटपटका कारण बर्माले नै हत्या गरेर शव इनारमा फालेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बर्मालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला अदालत बाँकेबाट म्याद थप गराई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुर क्षेत्रबाट सशस्त्र प्रहरीद्वारा १५ लाखको अवैध सुर्ती बरामद

१४ माघ २०८२, बुधबार १९:४१
नरैनापुर (बाँके) : निर्वाचनको तयारीमा सुरक्षा निकायलगायत सबैको ध्यान केन्द्रीत भएको बेला बाँकेको सीमावर्ती क्षेत्रमा अवैध आयात र चोरी तस्करी बढ्दैगएको छ । सशस्त्र प्रहरीले जिल्लाको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर क्षेत्रबाट अवैध रुपमा चोरी तस्करी गरेर भारतबाट ल्याइएको १५ लाख रुपियाँ बराबरको २३ बोरा सुर्ती र ट्याक्टर नियन्त्रणमा लिएको छ […]