
नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयले मुल्याङ्कन डाटाबेस प्रणाली सुरु गरेको छ । आईतबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सन्दर्भ मूल्यसूची विस्थापन हुनेगरी भन्सार कार्यालयहरूमा अनलाइन भन्सार डाटाबेस प्रणालीको शुभारम्भ गरेका हुन् । सो अवसरमा मन्त्री खनालले अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा रहेको निजी क्षेत्रलाई सुरक्षा र सुशासनको प्रत्याभूतिसहित व्यवसाय सञ्चालनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
सोहिअनुरुप गरिएको मुल्याङ्कन डाटाबेस प्रणालीको सुभारम्भले वैध व्यापारलाई प्रोत्साहन गर्ने, मूल्य अभिवृद्धि करलगायत अन्य कर कार्यान्वयनमा सहायता पुग्नुका साथै अनौपचारिक कारोबारमा समेत कमी आउने विश्वास व्यक्त गरे । नेपालगञ्ज भन्सार कार्यालय डाटावेस प्रणाली लागुगर्ने भन्सार कार्यालयहरुमा चौथो कार्यालय भएको छ । विराटनगर भन्सार कार्यालबाट यो कार्यको सुरुवात गरिएको हो ।

यसअघि राजश्व चुहावट नियन्त्रण परामर्स समितिको बैठकसमेत बसेको थियो । सो अवसरमा निजि क्षेत्रले समेत वैद्य बजार व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेल्ने बताईएको थियो । त्यसका लागि निजि क्षेत्रले समेत सहि विल–विजक बनाउनु पर्ने तथा प्रक्रिया पुरा गरेर ल्याईएका सामग्रीको मात्र बेचविखन गर्नुपनेमा जोड दिईएको थियो । गत शनिवारबाट लागु भएको ‘भन्सार ऐन २०८२’ ले पनि वैद्य बजारलाई राहत दिने विश्वास गरिएको छ ।



