
काठमाडौ : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर अन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
विराटनगर किंग्सले टस जितेर पहिला बलिङ रोजेपछि व्याटिङमा उत्रिएको लुम्बिनीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १३४ रन बनाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा विराटनगरका कप्तान सन्दिप लामिछानेले टस जितेर पहिला बलिङ रोजेका हुन् ।

विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो । यता लुम्बिनीले एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेसँगै यी दुई टोलीको दोस्रो क्वालिफायरमा भेट भएको हो ।
लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो । आजको खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ ।
यसअघि भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो ।


