
नेपालगञ्ज : होटल कलपत्रु नेपालगञ्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्सव सहित स्वागत गर्ने भएको छ । आगामी बुधबार बेलुका ८ बजे होटलको हलमा विशेष समारोहका बीच सांगितिक कार्यक्रम गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा होटलका जनरल म्यानेजर लक्ष्मण पन्थीले सांगितिक कार्यक्रम पारिवारीक वातावरणमा गर्न लागिएको जानकारी दिए । उनका अनुसार डिसेम्बर ३१ तारिखका दिन (बुधबार) बेलुका ८ बजेदेखी राती १२ बजेसम्म विशेष सांगितिक कार्यक्रम सञ्चालन हुनेछ । सांगितिक प्रस्तुतीका लागि कलाकार अस्मिता अधिकारी, महेश काफ्ले र संचिता बुलाखे नेपालगन्ज आउने निश्चित भईसकेको होटलले जनाएको छ ।
उक्त कार्यक्रम अवलोकन गर्नका लागि करिव साढे ५ सय दर्शक उपस्थित हुने आयोजकको अपेक्षा रहेको छ । उनले भने,– ‘हाम्रो यहाँ एकदमै पारिवारीक वातावरण, भरपर्दो शान्ति सुरक्षा र थोरै शुल्क तिरेर पनि कार्यक्रमबाट दर्शकहरुले भरपुर रुपमा मनोरञ्जन लिन पाउनु हुनेछ ।’

कार्यक्रम अवलोकन गर्नका लागि एक जनालाई १ हजार ८ सय र जोडीलाई ३ हजार ५ सय रुपैयाँ तथा बालबालिकालाई एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । उक्त शुल्क तिरेपछि अनलिमिटेड स्न्याक्स, खाना, ड्रिंङ्स, कोल्ड ड्रिंङ्स लगायत खाने कुरा ब्यवस्था गरिएको होटलले जनाएको छ ।
होटलले विगतका वर्षदेखी नै अंग्रेजी नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम गर्दै आएको छ । नेपालगन्जको न्युरोडमा सञ्चालित उक्त होटलले चार तारे स्तरको मान्यता पाएको छ ।
पत्रकार सम्मेलनमा होटलका एचआर शिवानी गुप्ता लगायत विभिन्न विभागका प्रमुखहरु उपस्थित भएका थिए । पत्रकार सम्मेलनमा पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले होटल कलपत्रुले गर्न लागेको नयाँ वर्ष विशेष कार्यक्रम सफलताको शुभकामना दिएका थिए । जाडो बढि नै भएको हुनाले होटलले आफ्नो ठुलो हलमा नयाँ बर्षको उमंंग दर्शकमाझ पस्कने जनाएको छ । पत्रकार सम्मेलनमा बाँकेका दर्जनबढि पत्रकारहरुको सहभागिता रहेको थियो ।


