
नेपालगञ्ज : नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि बाँके क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।
बाँके क्षेत्र नम्बर ३ प्रदेश समितिले सभापति पुनलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको क्षेत्रीय सभापति मोहम्मद नकी खाँले बताए ।

सभापति पुनको नाम यसअघि रोल्पाबाट पनि सिफारिस भएको थियो । यसअघि पटकपटक रोल्पाबाट निर्वाचन लड्दै आएका सभापति पुनको अहिले रोल्पा र बाँके गरी दुई जिल्लाबाट नाम सिफारिस भएको हो ।
बाँके क्षेत्र नम्बर ३ बाट सभापति पुनसहित प्रत्यक्षमा १० जनाको नाम सिफारिस गरिएको छ । ती नामहरूमा किशोर सिंह राठौर, आशा विक, मेघराज वली, लक्ष्मीनारायण शाह, टेकबहादुर खड्का, देवबहादुर खत्री, कृष्ण विक रमाइली, महेन्द्र मल्ल ठकुरी र ऋषिकेश जिसी रहेका छन् ।


