
नेपालगञ्ज : नेपालगञ्जका ‘जेन्जी’ले संसदीय अभ्यास गरेका छन् । ‘सङ्घीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम’ मार्फत नेपालगञ्जका ‘जेन्जी’ले संसदीय अभ्यास गरेका हुन् । युवाहरूलाई संसदीय प्रक्रिया र नीति निर्माणबारे प्रत्यक्ष अनुभव दिनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको नेपालगञ्ज उप–महानगरपालिका स्तरिय युवा क्लव सञ्जालका सचिव सालिया हासमीले जानकारी दिईन् ।
गत मंङ्सिर २३ देखि २५ गतेसम्म तीन दिन चलेको कार्यक्रममा सहभागिहरुले केवल सैद्वान्तिक ज्ञानमा मात्र सीमित नभई, युवा सहभागीहरूलाई संसदीय मर्यादा, विधेयक निर्माण, प्रश्नकाल सञ्चालन र सार्वजनिक बहसका लागि विस्तृत प्रशिक्षण समेत प्रदान गरिएको प्रशिक्षक साहिल अन्सारीले बताए । उनले भने,–‘नेपालको भावी नेतृत्व युवाहरूको हातमा छ । यस्ता प्रशिक्षणले उनीहरूलाई जिम्मेवार र जानकार नीति निर्माता बन्नका लागि आधार तयार गर्छ ।’
नमुना अभ्यास सत्रका दौरानमा युवाहरूले सरकार, विपक्षी दल र सदनका महत्त्वपूर्ण पदाधिकारीहरूको भूमिका निर्वाह गरेर नमुना सदनको कारबाहीलाई कुशलतापूर्वक सञ्चालन गरेका थिए ।
युवा सांसदहरूले जलवायु परिवर्तन, गुणस्तरीय शिक्षा र युवा रोजगारी जस्ता राष्ट्रिय चासोका विषयहरूमाथि गहन बहस गरे । उनीहरूले सरकारद्वारा प्रस्तुत गरिएका काल्पनिक विधेयकहरूमाथि कडा प्रश्न–उत्तर गर्दै रूपमा प्रतिपक्षको भूमिका निर्वाह गरे । सहभागीहरूले मर्यादित रूपमा आफ्ना तर्क प्रस्तुत गर्ने र सदनको नियम पालना गर्ने अभ्यास गरेका थिए ।


कार्यक्रमको मुख्य उद्देश्य युवाहरूमा समीक्षात्मक सोच, बोल्ने कला, सहनशीलता र लोकतान्त्रिक संस्कार विकास गर्नु थियो । नमुना अभ्यासमा सहभागी यवा संगीता विकले अनुभव बाँड्दै भनिन्,–‘संसद अभ्यास गर्दा एउटा नीति बनाउन वा विधेयक पारित गर्न कति धेरै प्रक्रिया र बहसबाट गुज्रनुपर्दो रहेछ भन्ने कुराको बोध भयो । यो अभ्यासले हामीलाई भोट हाल्ने मात्र होइन, देशको राजनीतिक प्रक्रिया बुझ्ने नागरिक बन्न प्रेरित गरेको छ ।’ सङ्घीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रमले आफुजस्ता युवाहरूलाई नेतृत्वको भूमिकामा अगाडि बढाउन र देशको भविष्यको लागि आवश्यक जनशक्ति तयार पार्न महत्त्वपूर्ण भुमिका खेलेको उनको भनाई थियो ।
‘युवाको हातमा नेतृत्व समृद्व नेपालको शुनिश्चितता’ भन्ने मूल नाराका साथ विभिन्न सामाजिक संस्थाहरू सहित नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा नगरस्तरिय युवा क्लवले आयोजना गरेको थियो ।



