
काठमाडौं : काठमाडांैको सोल्टी होटलमा आयोजित क्रिसमस बजारको नेपालस्थित अमेरिकी राजदूत डिन आर थम्पसन तथा उनकी धर्मपत्नी र एवनकी मानार्थ अध्यक्ष जेन क्रिल थम्पसनले संयुक्त रूपमा उद्घाटन गरे ।
एक्टिभ उमन अफ नेपाल (एवन)द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा सम्पन्न भयो । चार दशकभन्दा बढी समयदेखि निरन्तर हुँदै आएको यो वार्षिक कार्यक्रम यसवर्ष पनि उल्लेख्य सहभागिता रहेको थियो ,
उद्घाटनपछि बोल्दै श्रीमती थम्पसनले कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै भनिन्,‘एवन बजार हाम्रो लागि सधैं विशेष रहन्छ । हामी हरेक वर्ष क्रिसमसका सामग्री किन्न यहाँ आउँछौँ । यस वर्षको बजार निकै व्यवस्थित र सफल देखियो । उपलब्ध सामग्रीको गुणस्तर उत्कृष्ट छ, विविधता धेरै छ, र किफायती मूल्यमा एकै ठाउँमा सबै वस्तु पाइने सुविधा निकै उपयोगी छ ।’
कार्यक्रमलाई यात्रा म्यागजिन, नेपाल एयरलाइन्स, आइविबी अष्ट्रेलिया, बुद्ध एअर, सेन्चुरी स्पाइसेस एन्ड स्न्याक्स, रुपीज इन्टरनेशनल स्कुल र डाबर नेपालले प्रायोजन गरेका थिए । बजारमा १०० भन्दा बढी स्टलले स्टार्टअप उत्पादन, अर्गानिक सामग्री, हस्तकला, फेसन वस्तु, घरायसी सजावट तथा चाडपर्वका सामग्री बिक्री तथा प्रदर्शन गरेका थिए । आगन्तुकका लागि खानाका स्टल र बाल–मैत्री गतिविधिहरू पनि राखिएको थियो ।

कार्यक्रमबाट संकलित रकम एवनले सञ्चालन गर्दै आएका महिला सशक्तिकरण, सामुदायिक सहयोग र सामाजिक सेवा परियोजनामा विनियोजन गरिने जनाइएको छ ।
७७ वर्षअघि स्थापना गरिएको एवन प्रारम्भमा अमेरिकी दूतावाससँग जोडिएका केही महिलाहरूको समूहका रूपमा सुरु भए पनि अहिले नेपाली तथा विदेशी महिलाहरूलाई समेट्ने समावेशी सामाजिक संस्था बनेको छ ।
एवन की अध्यक्ष बाबा सरकार श्रेष्ठले बजारको सफलताप्रति खुशी व्यक्त गर्दै भनिन्,‘यस वर्षको क्रिसमस बजार अत्यन्तै सफल रह्यो । प्रायोजक, सहभागी, स्वयंसेवक र आगन्तुक सबैलाई धन्यवाद दिन चाहन्छौँ । तपाईँहरूको सहयोगले नै हामीले सञ्चालन गर्दै आएका च्यारिटी तथा समुदाय–मुखी कार्यक्रमहरूलाई निरन्तरता दिन सम्भव भएको छ । सबैलाई हार्दिक धन्यवाद ।’
आयोजकका अनुसार यस वर्षको एवन बजार सहभागिता, बिक्री–व्यवहार र समग्र सार्वजनिक रुचिका आधारमा पछिल्ला वर्षहरूमध्ये सबैभन्दा प्रभावकारी कार्यक्रमका रूपमा मूल्यांकन गरिएको थियो ।



