
नेपालगञ्ज : गत भदौ २३ र २४ गते नेपालगञ्जमा भएको ’जेनजी’को प्रदर्शनका क्रममा तोडफोड गरिएका शालिकहरू नेपालगञ्ज उप–महानगरपालिकाले उठाउन सुरु गरेको छ ।
प्रदर्शनकारीहरूले पुष्पलालचोक, विपीचोक, गणेशमानचोक र सेतुविक चोकमा रहेका पुष्पलाल, विपी, गणेशमान र सेतु विकको शालिक तोडफोड गरी ढालेका थिए । जसलाई उप–महानगरपालिकाले डोजरको प्रयोग गरी उठाउन सुरु गरेको हो ।

चोकहरूमा ढलेका शालिकले नगरको सौन्दर्य बिगारेको भन्दै चौतर्फी दबाब बढेपछि उप–महानगरपालिकाले उक्त कदम चालेको हो । नगर प्रमुख प्रशान्त विष्टले प्रदर्शनका क्रममा क्षति पुगेका चारवटै शालिक (पुष्पलाल, विपी, गणेशमान र शहिद सेतु विक) को पुनर्निर्माण आवश्यक रहेको बताए ।
उनका अनुसार, यस कार्यका लागि ठूलो बजेट चाहिने भएकाले आगामी पुस महिनामा बस्ने नगरसभामा यस सम्बन्धी प्रस्ताव पेस गरि व्यवस्था गरिनेछ । यसका साथै, वीरेन्द्रचोकमा पनि शालिक राख्न माग भइरहेको र यसबारे सबै पक्षसँग सहमति जुटेमा पुनस्र्थापना गर्न सकिने नगर प्रमुख विष्टको भनाइ छ ।
नेकपा एमाले बाँकेले कार्तिक २९ गते नै ती शालिकहरू पुनस्र्थापना गर्ने निर्णय गरेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले बताए । त्यस्तै, नेपाली काँग्रेस बाँकेका सचिव सुधांसु कोइरालाले पनि शालिक उठाउन कार्यकर्ताबाट दबाब आएको तर, प्रशासनसँगको पहल सफल नभएको बताए । पार्टी आफैँले शालिक उठाउँदा विवाद सिर्जना हुन सक्ने देखिएकाले त्यसबेला उक्त काम रोकिएको उनको भनाइ थियो ।


