
नेपालगञ्ज : नेपाल परिवार नियोजन संघ बाँकेको आयोजना तथा भेस्टोलिटोको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्यको सुनिश्चित गर्ने उद्देश्यले सरोकारवालासंग अन्तरक्रिया गरिएको छ ।
सघको आयोजनामा मंगलबार अपांगतामैत्री यौन तथा प्रजनन स्वास्थ्यसेवा सम्बन्धी सो अभिमुखिकरणमा संचारकर्मी, अपांगता अधिकारकर्मी र मानव अधिकारकर्मीलाई सहभागी रहेका थिए ।
कार्यक्रममा परिवार नियोजन संघ बाँकेकी शाखा प्रबन्धक रश्मि श्रेष्ठले संघले सञ्चालन गरिरहेको भेस्टिलिटो परियोजनाले अपांगता भएका व्यक्तिहरुलाई लक्षित गर्दै उनीहरुको आवश्यकता अनुसार सेवा, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि, पहुँचमैत्री संरचना र सरोकारवालाबीच निरन्तर संवाद जस्ता पहल गर्दै आएको जानकारी दिए ।
उनले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर, परिवार नियोजनको परामर्श, प्रजनन अधिकारबारे जानकारी दिनुका साथै अपाङ्गता अधिकारको बारेमा सन २०२३ देखि बाँकेमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

कार्यक्रमले अपांगतामैत्री यौन प्रजनन स्वास्थ्य सेवालाई व्यवहारिक रूपमा लागू गर्ने आधार तयार गरिरहेको छ । परिवार नियोजन संघ बाँकेका सभापति बदरुदुज्जा खाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपाङ्गता अधिकारकर्मी जीवन गिरीले अपाङ्गताका बारेमा विविध पक्षलाई उजागर गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाका महिला बालबालिका शाखा अधिकृत आशा शाही, अपांग अधिकारकर्मी गोकर्ण आचार्य, बिनोद थापा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
बाँकेमा १३ हजार ५ सय २२ जना विभिन्न १० प्रकारको अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् ।


