
नेपालगञ्ज : नेपालगञ्ज म्याराथनले मलेसियाको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगापुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र नेपालगञ्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको हो ।
नेपालगञ्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले कोर म्याराथनका आयोजक स्कोर स्पोर्ट्स म्यानेजमेन्टका संस्थापक एवं सिईओ प्याट्रेसिया टेन र नेपालगञ्ज म्याराथनका संस्थापक एवं अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरेको जानकारी दिए ।
पहिलो चरणमा पाँचबर्षका लागि सम्झौता गरिएको र यसलाई आवश्यक परिमार्जनसहित समयावधि थप्दै जाने सहमति भएको नेपालगञ्ज म्याराथनका संस्थापक एवं अध्यक्ष ठकुरीले बताए ।

उनीविश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को नेपालका लागि दूत पनि हुन् । ‘मलेसियाको शीर्ष तीनभित्र पर्ने स्कोर म्याराथन वल्र्ड क्लास रोड रेस लेवल मान्यता प्राप्त म्याराथन हो, चालिस हजार भन्दा बढीले भागलिने गर्छन्’–उनले भने–‘यो सम्झौताले नेपाली धावक, अफिसियल, भोलन्टियर लगायतलाई विश्व स्तरीय म्याराथनबाट अनुभव बटुल्ने, नयाँ केही सिक्ने अवसर अवश्य प्राप्त हुनेछ । हामी धेरैभन्दा धेरै युवालाई अन्तर्राष्ट्रिय एक्सपोजर दिलाएर नेपालकाम्याराथनतथा समग्र खेलकुदका लागि दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो या अभियान हो ।’
यो सम्झौताले नेपालका रनिङ इभेन्टहरुको अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार हुने र नेपालमा पर्यटक भित्रयाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्झौता अनुसार नेपालगञ्ज म्याराथनको सिफारिसमा खेलाडी, अफिसियल, भोलन्टियर लगायतलाई मलेसिया र सिंगापुरमा हुने स्कोर म्याराथनका सिरिजमा दर्ता र आतिथ्यतालगायतका सुविधाप्रदान गरिनेछ भने स्कोर म्याराथनलाई नेपालगञ्ज म्याराथन सिरिजमा सोही सुविधाप्रदान गरिेने उल्लेख रहेको अध्यक्ष ठकुरीले बताए ।
एघार बर्षदेखि अविराम सन्चालन हुँदै आएको नेपालगञ्ज म्याराथनका भगिनी इभेन्टका रुपमा नेपालगञ्ज १० नाइट रन, गौघाट ग्रीन रन, राप्तीसोनारी नेचर रन, कर्णाली हाफ म्याराथन र काठमाडौंं २५के हेरिटेज रेस रहेका छन् ।


