
नेपालगञ्ज : लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले अन्तरप्रदेश समन्वय र सहकार्य बिना पर्यटन क्षेत्रको प्रबर्द्धन हुन नसक्ने कुरामा जोड दिएका छन । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच पर्यटन अन्तर सम्बन्ध खोज्ने उद्देश्यले नेपालगञ्जमा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा औल्याएका हुन ।
उनले प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न नसक्दा पनि सोचे जस्तो पर्यटकहरु भित्र्याउन नसकिएको बताउदै अन्तर प्रदेशस्तरीय समन्वय अभावमा नेपाल आउने पर्यटकहरुको बसाइँ लम्ब्याउन नसकिएको कुरामा जोड दिदै भने–‘पर्यटकलाई नेपाल भित्र्याउन र उनीहरुको बसाइँ लम्ब्याउन अन्तर प्रदेशबीच समन्वय र सहकार्य जरुरी छ । लुम्बिनी र गण्डकी प्रदेशबीच भएको यो अन्तरक्रियाले दुई प्रदेश बीचको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउँछ भन्ने बिश्वास छ ।’
उनले पर्यटकहरुको सहज आवागमनका लागि मन्त्रालयले पहल गरे पनि सुरक्षा निकायबाट सहयोग नपाएको कारण त्यो प्रभावकारी हुन नसकेको बताए । त्यसका निमित्त आफूले सुरुदेखि नै सुरक्षा चेकजाँचका नाममा पर्यटकहरुले अनावश्यक दुःख पाइरहेको गुनासो सुन्दै आएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि सुरक्षा निकायका अधिकारीहरुसंग पटकपटक छ्लफल गरे पनि सुरक्षा निकायले पहल नगरेको टिप्पणी गरे ।
उनले भने–‘नेपालगञ्जको जमुनाह नाका, कपिलबस्तुको बेलरी नाकाबाट आउने पर्यटकहरुले नेपाल प्रवेश गर्नासाथ बाटोभरी चेकजाँचका नाममा दुःख पाएका छन् । मैले सुरक्षाकर्मीका उच्च अधिकारीहरुसंग पनि सहजताका लागि छलफल गरेको छु । उहाँहरु (सुरक्षाकर्मी) ले हुन्छ भनेर प्रतिबद्धता जनाउनुहुन्छ । तर, कार्यान्वयन हुँदैन । नियत नै ठीक नभए पछि गाह्रो हुँदो रहेछ ।’

उनले पर्यटन प्रबद्र्धनका लागि निजी क्षेत्रले नै अगुवाई गर्नुको विकल्प नभएको बताए । तर, त्यसका लागि निजी क्षेत्रले वातावरण बनाउनुपर्ने उनले बताए । लुम्बिनी प्रदेश पर्यटकीय सम्भावनाले अत्यन्तै प्रचुर सम्भावना बोकेको प्रदेश भएकाले निजी क्षेत्रले गर्ने लगानीमा मन्त्रालयको सहयोग हुने न्यौपानेले बिश्वास दिलाए । लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले नेपालमा भारतीय पर्यटन प्रवद्र्धनका लागि आवागमनमा सहजता जरुरी रहेको बताइन् । उनले लुम्बिनी प्रदेश पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै सम्भावनायुक्त ठाउँ भएकाले भारतीय पर्यटकहरुको आवागमनलाई सहज बनाउन आवश्यक रहेको बताइन् ।
भारतीय पर्यटकहरुले नेपाली सुरक्षाकर्मीबाट चेकजाँचका नाममा विभिन्न झन्झट खेप्दै आइरहेको गुनासो आफूले सुनेको उल्लेख गर्दै त्यसको सहजीकरणका लागि विभागीय मन्त्रीले पहल गर्नुपर्ने बताइन् । बाँके राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगायतका चर्चित स्थलहरु पनि लुम्बिनी प्रदेशमै रहेकाले पर्यटनको ठूलो सम्भावना रहेको उनले बताइन् ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख युवराज गुरुङ, नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजिव शाह, नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट लगायतले आ–आफ्नो सुझाव दिएका थिए ।
नाट्टा गण्डकीका द्वितिय उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजेश पहाडीले विषय प्रवेश गराएको कार्यक्रमको सहजिकरण नाट्टा गण्डकीका महासचिव चेतन कार्कीले गरेका थिए ।



