
नेपालगञ्ज : नेपालगञ्जमा आयोजना हुने धारा नेपालगञ्ज म्याराथन र यति एयरलाइन्सबीच सहकार्य हुने भएको छ । आगामी मंसिर ६ गते शनिवार हुने ११ औं संस्करणको धारा नेपालगञ्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउने गरी सम्झौता भएको हो ।
यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा नेपालगञ्ज म्याराथनका प्रोग्राम म्यानेजर कपिल थापाले सम्झौता पत्र आदान प्रदान गरे । यो सम्झौतासँगै यति एयरलाइन्स धारा नेपालगञ्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनर हुनेछ ।

वल्र्ड रनिङको साझा साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को पुर्णकालीन सदस्य धारा नेपालगञ्ज म्याराथनका विजेता एवं शीर्ष नेपाली धावकहरुलाई विश्वकै शीर्ष म्याराथनहरुमा सहभागिताको अवसर प्रदान गर्ने वातावरण बनाउँदै अगाडि बढेको एम्सका नेपाल प्रतिनिधि एवं धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए ।
‘धारा नेपालगञ्ज म्याराथन धावकका लागि त हो नै, समुदायका हरेक सदस्य लाभान्वित हुने प्लेटफर्म हो’–संस्थापक ठकुरीले भने–‘यसका हरेक सदस्यले वैदेशिक भ्रमणको अवसर पाउनुका साथै यति एयरलाइन्सको सहुलियत टिकट पाउनेछन्, सम्झौता हुने खेलुकद सामग्री उत्पादक तथा वितरकबाट पनि हरेक सदस्यले बिशेष सहुलियत पाउने व्यवस्था मिलाइनेछ ।’
नेपालगञ्ज कनक्लेवका लागि विभिन्न पेशागतएवं व्यवासायिक संघसंस्थासँग सहकार्य गर्ने तयारी समेत अगाडि बढेको छ । म्याराथनको तयारीबारे चाँडै सार्वजनिक गरिनेछ ।


