सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत रहेको मुख्यमन्त्री आचार्यको भनाई

सदरलाइन संवाददाता ७ आश्विन २०८२, मंगलवार १८:३५
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन संयुक्त कार्ययोजना बनाएर अघि बढिरहेको बताएका छन् ।

नेकपा एमाले क्षेत्रीय समन्वय समिति क्षेत्रनं. ३ को पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर आन्दोलनबाट प्रभावित सेवा प्रवाहलाई पुरानै लयमा फर्काउने प्रयास भइरहेको बताए ।

‘सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन जरुरी छ । त्यसका लागि स्थानीय सरकार र प्रदेश सरकारले संयुक्त ढंगले कार्ययोजना बनाएर अघि बढ्न खोजिरहेका छौं,’ उनले भने, ‘कर्मचारीहरूको दबिएको मानसिकता छ । त्यसलाई माथि उठाउन प्रयास गरिरहेका छौं । त्यस मानेमा पनि यदि हामी चुप लागेर बस्यौं भने खराब तत्वले मुलुकमा राज गर्ने अवस्था आउँछ ।’

मुख्यमन्त्री आचार्यले तोकिएको समयमा चुनाव हुने हो भने नेकपा एमाले चुनावबाट नभाग्ने स्पष्ट पारे । ‘यदि साँच्चै तोकिएको मितिमा चुनाव हुने हो भने हामी चुनावबाट भाग्दैनौं,’ उनले भने,‘एमाले चुनावबाट कुनै हालतमा भाग्दैन ।’


यस्तै, सम्बोधनका क्रममा उनले देशको राष्ट्रियता र स्वाभिमानका पक्षमा दृढताका साथ उभिएकै कारण तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालिएको दाबी गरे । नेपालको सहमति विना भारत र चीनले नेपाली भूमिलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने सम्झौता गरेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएकै कारण मुलुकमा यस्तो परिस्थिति सिर्जना भएको दाबी उनको छ ।

‘चीन भ्रमणको क्रममा देशको भूमिसम्बन्धी विषय नउठाएको भए यो अवस्था आउने थिएन,’ उनले भने, ‘देशको स्वाभिमान र राष्ट्रियताको पक्षमा उभिएकै कारण यो अवस्था सिर्जना भएको हो । यसमा दुईमत छैन ।’

आँधिबेरीमा सतीशाल झैं उभिन सक्दा मात्र गन्तव्यमा पुग्न सकिने उल्लेख गर्दै उनले भने, ‘घर जलेर खरानीको थुप्रो मात्र छ । शरीरमा लगाएको कपडा बाहेक केही छैन । तर, म निराश छैन । अहिले कर्मचारीहरूको मनोबल उच्च बनाउन, संरचनाहरू छिटोभन्दा छिटो सुधार गरेर सेवा प्रवाह गर्न सकिन्छ भन्ने विश्वास दिलाउन अनुगमन गरिरहेको छु । जनताको मनोबल कसरी बढाउन सकिन्छ भन्नेमा ध्यान दिएर अघि बढेका छौं ।’

आम जनताबीच पुग्ने गरी पार्टीले कार्ययोजना निर्माण गर्ने समेत उनले बताए । ‘भदौ २३ गते जेनजीहरूले सडकमा आन्दोलन गरे । आन्दोलन भइरहँदा यो मुलुकमा यस्तो अवस्था आउला भनेर कसैले कल्पना गरेका थिएनौं । प्रदर्शनका दुई माग थिए । सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गर्नुपर्ने र बन्द भएको सामाजिक सञ्जाल सञ्चालन हुनुपर्ने । राज्य सत्ता परिवर्तन भने उनीहरूको माग थिएन,’ मुख्यमन्त्री आचार्यले भने, ‘सुरक्षा निकायका अंगहरूले आन्दोलनको बारेमा समयमै जानकारी लिन सक्नुपथ्र्यो । घटनाको सत्यतथ्य पत्ता लगाउन जरुरी छ । सुरक्षा निकायलाई सूचना भएर पनि राजनीतिक नेतृत्वलाई गुमराहमा पारियो या जानकारी नै भएन, यो विषय छानबिन हुनु आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको धम्बोझी गाउभित्र भएको सडक दुर्घटनामा एकको मृत्यु

७ आश्विन २०८२, मंगलवार १८:३५
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगर वडानं. १, धम्बोझी गाउभित्र मङ्गलबार दिउँसो भएको सडक दुर्घटनामा परेर एकको ज्यान गएको छ । गुल्मबाट धम्बोझी जाने बाटोमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक कर्णबहादुर थापाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकका अनुसार मङ्गलबार दिउँसो करिब ३ बजेर २५ मिनेटमा भे. १२ प. […]