
नेपालगञ्ज : बाँकेको नौबस्तामा रहेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । बुधबार बिहान करिव २ बजेतिर भएको सो घटनामा पाँच जनाको मृत्यु र २ जना घाइते भएका सुरक्षा निकट स्रोतले जनाएको छ ।
सो घटनापछि बाल सुधारबाट त्यहाँ रहेका बालविज्याईकर्ताहरु केही संख्यामा फरार भएको बताइएको छ ।
सुरक्षा स्रोतका अनुसार सो घटनामा परी मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् । गएराति सुधारगृहमा झडप भएको थियो ।

त्यसक्रममा प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो । घटनामा घाइते भएकाहरुलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । ती घाइतेमध्ये पाँच जनाको अस्पताल ल्याउदै मृत्यु भईसकेको अस्पताल स्रोतले जनाएको छ ।
घाइते दुई जनाको भेरी अस्पतालमै उपचार जारी छ । देशभर जेनजीको आन्दोलन चर्किंदा नौबस्ताको बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए । प्रहरीले रोक्न खोज्दा सो घटना भएको थियो । त्यही क्रममा झडप भएको थियो ।
नौबस्ता बाल सुधार गृहमा रहेका केही बालविज्याईकर्ता भागेका छन् भने केही बालसुधारगृह भित्रै रहेका छन् । सो विषयमा स्थानीय प्रशासन मौन रहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीसंग सम्पर्क गर्दा उहाँले फोन उठाउनु भएन । कति बालविज्याईकर्ता थिए र कति सो घटनापछि भागे जानकारी आउन सकेको छैन ।


