सिक्टा सिचाई आयोजनाले नहरको पानी नपुग्ने स्थानमा लिफ्ट मार्फत किसानको खेतमा सिचाई पुराउदै

नहर आसपासका किसानको खेतमा हरियाली

रुद्र सुवेदी १६ श्रावण २०८२, शुक्रबार १९:१८
 

नेपालगञ्ज :  बाँकेमा खडेरीको कारण धान रोप्न नपायका किसानको गुनासो आउदै गर्दा राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाको पूर्वी र पश्चिम नहर आसपासका किसान भने नहरको पानी प्रयोग गरी धान खेती गर्न पाएको बताएका छन ।

लगातारको खडेरीका कारण बाँकेमा रोपेको धानको गह्रामा धाँजा फाटेको तथा वर्षेखेती सुकेर प्रभावित भएको बेलामा राष्ट्रिय गौरवको आयोजनाको रुपमा बाँकेको सिक्टा सिचाई आयोजनाको नहरको आसपासका किसानले नहरको पानीका कारण समयमा खेती गर्न पाएको बताउछन् ।

बाँके राप्तीसोनारी– ८ बालापुरका किसान हरी खत्रीले सिक्टा नहरको पानीका कारण आफुहरुले समयमा खेती लगाउन पाएकोे बताए । उनले भने– ‘नहरबाट पानी सलल बगेर जान्थ्यो हामी टुलुटुलु हेरेर बस्थ्यौ तर, सिक्टा सिचाई आयोजनाले लिफ्ट प्रविधिबाट नहरको पानी गाउमा पुराई दिएपछि हामी अहिले तीन खेती लगाउन सक्ने भएका छौ ।’

बालापुर कै अर्का किसान बिरबहादुर खड्काले सिक्टा नहरको पानीको कारण पाखोबारीमा धान रोप्न पाएको बताउछन । उनले भने–‘ अहिले खडेरीको कारण सिचाई सुविधा नभएको ठाँउमा धान रोप्न पाएका छौनन, रोपेको धान पनि सुकेर खेत मै धाँजा फाटेको छ । तर, हाम्रो गाउमा भने सिक्टा नहरका कारण हरियाली भएको छ । पहिला मकै पनि राम्ररी नहुने बारीमा अहिले धान रोप्न पाएका छौ ।’

बालापुर लिफ्ट सिचाई आयोजनाका अध्यक्ष समेत रहेका लोकबहादुर खत्र्रीले सिक्टा सिचाईले नहरबाट पानी सिचाई गर्न नमिल्ने ठाउको पहिचान गरी नहरको पानी लिफ्ट गरी किसानको खेतमा पुराई दिएको बताए । उनले बालपुरमा करिव २ सय घरधुरीको ५० हेक्टर जमिनमा सिक्टाको नहरबाट पानी लिफ्ट गरेर सिचाई गरिएको बताए ।

उनले भने–‘ पहिला पानीको सतह सुकेको कारणले हो वा के हो थाहा भएन गाउमा भएका हैण्डपम्प र बोरिङ्गले पनि गर्मीयामका बेलामा पानी दिदैनथ्यो तर, सिक्टा नहरमा निरन्तर पानी चलाईएपछि लिफ्टकोे माध्यामबाट पनि गाउमा सिचित हुन लागेपछि सिचाई पनि भएको छ । अर्कोतिर गाउका हैण्डपम्प र बोरिङ्ग पनि सुकेका छैनन् ।’

पश्चिम नहरबाटै लिफ्ट सिचाईको प्रयोग गर्दै आएका राप्तीसोनारी–९ ढकेरीका किसान लिला वली र देवी खड्काले आफुहरुको खेतबारीमा सिचाईको सुविधा पुगेपछि खेत सिचाई नहुँदा बाँझै छोड्नु पर्ने बाध्यता हटेको बताए । उनीहरु भन्छन–‘ हमीले नहरको पानीले खेती गर्न पाएका छौ । हाम्रै गाउबाट बगेर पश्चिम जाने नहरको उपयोग गर्न नपाउने हो कि भन्ने चिन्ताले पिरोलेको भएपनि लिफ्ट प्रविधिबाट पानी सिचाईको लागि उपलब्ध भएको छ । हामीलाई खेतीमाम सहज भएको छ ।’


बाँकेमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधिन सिक्टा सिचाई आयोजनाले करिब ४३ हजार हेक्टर खेती योग्य जमिन स्थलगत नहरका माध्यामबाट सिचाई पुराउने उद्देश्यले निर्माणाधिन अवस्थामा छ । नहरको पनि किसानको खेतमा नपुग्ने स्थानमा विभिन्न प्रविधिको प्रयोग गरी किसानको खेतमा पानी पुराउने व्यवस्था गरेको छ ।

आयोजनाका साईड ईन्जिनियर सोनाम छिरिङ्ग गुरुङ्गले सिक्टा सिचाईको नहरबाट पानी नपुग्ने ठाउमा आयोजनाले लिफ्ट सिचाई प्रणाली मार्फत किसानको खेतमा पानी पुराएको जानकारी दिए । उनले लिफ्ट प्रविधिबाट सिचाईको लागि पानी पुराउनको लागि पश्चिम नहरमा हाल ४ वटा लिफ्ट निर्माण गरि पानी सञ्चालन गरेको र पूर्वी नहरको विभिन्न १२ स्थानमा लिफ्ट प्रविधि निर्माणको लागि टेण्डर आव्हान समेत भएको र चाँडै नै निर्माण हुने बताए ।

उसो त बाँकेमा लामो खडेरीका कारण वर्षेखेती विषेशगरी धान खेती प्रभावित भएको छ । राष्ट्रिय गौरवको आयोजना सिक्ट सिचाई आयोजनाको नहरमा नियमित पानी छाड्दा नहर आसपासका किसानले लाभ उठाउन सकेको आयोजनाका निमित्त निर्देशक राजु आचार्यको भनाई छ ।

उनले भने–‘ हामी निर्माणकै चरणमा छौ । मूल नहर पश्चिमको निर्माण सम्पन्न भई शाखा प्रशाखा निर्माणको चरणमा छौ । अर्कोतिर पूवी नहरको केही किलोमिटर निर्माण गर्न बाँकी रहेकै अवस्थामा पनि हामीले करिव २१ हजार हेक्टरमा सिचाई पुराउन सफल भएका छौ ।’

उनले आयोजनालाई जतिसक्दो चाँडो सम्पन्न गराई किसानको खेतसम्म पानी पुराउने आफुहरु लक्षको नजिक रहेको बताए । उनले नहरको पानी सिचाईको लागि प्रयोग गर्न नपाउने किसानका लागि आयोजनाले बैकल्पिक व्यवस्था अनुसार नहरबाट लिफ्ट प्रविधि प्रयोग गरी पानी पुराउने व्यवस्था मिलाईएको बताए ।

बाँकेको करिब ४३ हजार हेक्टरमा सिचाई पुराउने उद्देश्यले विक्रम संवत २०६२ मा निर्माण सुरु भएको यस आयोजनाले करिव २१ हजार हेक्टरमा सिचाईको पानी पुराएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोशीका मुख्यमन्त्री कार्कीद्वारा प्रेस क्लब भद्रपुर झापाको कार्यालय भवको उद्घाटन

१६ श्रावण २०८२, शुक्रबार १९:१८
विराटनगर :  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रेस क्लब भद्रपुर झापाको कार्यालय भवनको उद्घाटन गर्दै पत्रकारले सकारात्मक समाचारलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । पछिल्लो समयमा नकारात्मक समाचारले प्राथमिकता पाउँदा समाज गलत दिशातर्फ गएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले समाजलाई सही ढंगले अगाडि बढाउन पत्रकारहरूको महत्वपूर्ण भूमिका हुने बताएका हुन । […]