
नेपालगञ्ज : दुई वर्षअघि जाजरकोटको बारेकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परेर अभिभावक गुमाएकी एक बालिकालाई बर्दिया बढैयाताल–३ पुष्पनगरका समाजसेवी एवं नेपाल प्रहरीमा प्रहरी सहायक अधिकृतको रुपमा कार्यरत कुलबहादुर विकले शैक्षिक सामाग्री उपलब्ध गराएका छन ।
२०८० साल कात्तिक १७ गते आएको भुकम्पमा परेर रुकुमको छेपारे रिम्नामा निधन भएको खडकबहादुर विकको छोरी भगवति सस्कृति सेकेन्डरी स्कुल तिलकाना बर्दियामा कक्षा २ अध्ययनरत विद्यार्थी श्रीष्टी बिकलाई सहयोग स्वरुप समाजसेवी तथा प्रहरी सहायक अधिकृत विकले शैक्षिक सामाग्री प्रदान गरेका हुन ।
बढैयाताल गाउँपालिका ३ पुष्पनगरमा आफ्नो आमाका साथ बस्दै आएकी बिद्यार्थी श्रीष्टिलाई विद्यालय पोशाक, कपि, कलम, झुल, झोला र जुत्ता बितरण गरिएको हो ।

केही महिना पहिले मात्र प्रहरी सहायक अधिकृत जिल्ला प्रहरी कार्यालय बाँकेले पनि पुरस्कृत गरेको थियो । उनलाई दिईएको जिम्मेवारी कर्तव्यनिष्ट भइ संगठनको निति निर्देशन अनुसार कुशलताका साथ कार्य सम्पादन गरेकोमा नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो ।
प्रहरी सहायक अधिकृत बिकले बालिकाको पढाईमा सहजता होस र पोशाक, कपि, कलम, झोला तथा जुत्ताको समस्या नहोस भनेर वितरण गरिएको बताए ।
यसअघि गत वर्ष ती बालिकालाई बढैयाताल गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकला विकले पनि नगद सहयोग गरेकी थिईन । प्रहरी सहायक अधिकृत बिक यसअघि जमुनाहा प्रहरी कार्यालयमा कार्यरत हुँदा नेपाल भारत सीमा क्षेत्रको जमुनाहा नाकामा राम्रो काम गरेका थिए ।


