
नेपालगञ्ज : नेपाल राष्ट्रिय आधारभूत विद्यालय धौलागिरीमा ४१ वर्ष लामो समय शिक्षण पेशामा रहेका शिक्षक रुद्र रानाभाटलाई भब्य समारोहका बीच बिदाई गरिएको छ ।
२०४१ साल भदौ २५ गते सेवा आरम्भ गरेका शिक्षक रानाभाटले ४ दशक एउटै विद्यालयमा अध्यापन गराएका थिए । सेवा निबृत रानाभाटलाई विद्यालयमा विहीबार भव्य कार्यक्रमको आयोजना गरी विदाई गरिएको थियोे ।
खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, नौमती बाजा समूह धौलागिरीका नौमती बाजा, शिक्षक, विद्यार्थी, अभिभावक, खजुरा गाउपालिका वडा नं. ३ का वडाध्यक्ष पूर्णबहादुर भण्डारी, वडा सदस्य देउमाया मगर, खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, नेपाल रेडक्रस सोसाइटी वागेश्वरी खजुरा शाखा अध्यक्ष जीवनाथ सापकोटा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्ण गौतम, शिक्षक महासंघ खजुराका अध्यक्ष माधव सापकोटा लगायतले शुभकामना व्यक्त गरेका थिए ।


४१ वर्ष एउटै विद्यालयमा सेवा गरेका शिक्षक रानाभाट नेपाली विषय अध्यापन गराउँदै आएका थिए । ४ वर्ष विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरेका थिए । कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष तुफानले असल शिक्षकको जिम्मेवारी पूरा गरेका रुद्र रानाभाटले फेरि पनि बाँकी अनुभव समुदाय र शिक्षा क्षेत्रमा खर्च गर्ने बताए ।
विदाई समारोहमा आफ्नो भनाई राख्दै शिक्षक रानाभाटले फेरि पनि आफ्नो बाँकी समय शिक्षा क्षेत्रमा नै व्यतित गर्ने उदघोष गरे । विद्यालयका प्रधानाध्यापक केशरबहादुर केसीले स्वागत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम काउचा मगरले कार्यक्रमको समापन गरे लगत्तै नौमती बाजासहित विद्यालयबाट शिक्षक रानाभाटको घर एक नम्बरसम्म पुगेर गरिएको विदाईलाई अझ औपचारिकता दिइएको थियोे ।



