
नेपालगञ्ज : नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानले दुवै देशका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने भन्दै पुनः पहल थालिएको छ। दुवै देशको फाइदाका लागि हवाई उडानमार्फत भारतसँग पश्चिम नेपालको ‘कनेक्टीभिटी’ गर्न जरुरी भएको यहाँका सरोकारवालाको जोड छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यो विषयमा ठोस् निर्णय गर्नुपर्ने उनीहरूको सुझाव छ।
नेपालगञ्ज विमानस्थलमा अन्तर्राष्ट्रिय मापदण्डका टर्मिनल भवनसहित नयाँ भौतिक पूर्वाधार निर्माण भइसकेका छन्। विमानस्थलको नयाँ टर्मिनल भवनको ब्लक ए, बी र सी सहित एप्रोन, सवारी साधन पार्किङ, गेष्ट हाउस, नाला, फुटपाथ, शौचालय लगायतका संरचना निर्माण गरिएको छ।
नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख सुमत चौधरीले हालै बनेका भौतिक पूर्वाधार अन्तर्राष्ट्रिय मापदण्डका भएकाले नेपालगन्ज–दिल्ली उडानलाई सहज बनाएको बताए। नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख चौधरीका अनुसार ‘नेपालगञ्जबाट अहिलेसम्म जुन अवस्थाका जहाजहरू उडिरहेका छन्, यी जहाजबाट जुनसुकै ठाउँमा पनि उडान गराउन सकिन्छ, अन्तर्राष्ट्रिय उडानलाई टार्गेट गरेर नै विमानस्थल बनेको छ । नेपालगञ्ज–दिल्ली उडानको अनुमति हुने बित्तिकै यहाँ उडिरहेका एटिआर सिरिजका जहाजबाट तत्कालै उडान भर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने भन्सार र क्वारेन्टाईन कार्यालय पनि स्थापना गर्न सकिने प्रमुख चौधरी बताउँछन्। विमान कम्पनी बुद्ध एअर र श्रीएअरले नेपालगञ्ज–दिल्ली उडान गर्न तयार रहेको भन्दै यसअघि नै संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन बुझाइसकेको बताइन्छ।
नेपालगञ्ज उप-महानगरपालिकाका उप-प्रमुख कमरुद्धिन राई दिल्ली उडानका लागि अब कानुनी रुपमा अनुमति मात्रै आवश्यक रहेको बताए। सिधा हवाई उडानले पश्चिम नेपालका नागरिकहरू सहज रुपमा दिल्ली जान सक्ने र दिल्लीबाट पनि भारतीय नागरिकहरू सहजै नेपालगञ्ज सहित पश्चिम नेपालमा आउन सक्ने विश्वास गरे।

कोहलपुर नगरपालिकाका उप-प्रमुख सङ्गीता सुवेदीले हवाई उडानले नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भारतीय नागरिकलाई आवत–जावतमा सहज हुने बताइन्।
नेपालगञ्जका पुर्वमेयर एवम् वरिष्ठ अधिवक्ता विजय गुप्ताले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानको मुद्दा धेरै पहिलादेखी उठेपनि त्यसले सार्थकता नपाएको बताए।
२०५२ सालमा आफू तत्कालीन नेपालगञ्ज नगरपालिकाको नेतृत्वमा रहँदा पनि नेपालगञ्जलाई दिल्लीसँग सिधा हवाई मार्गमा जोड्न पहल थालिएको स्मरण गरे। तर, अहिले नेपालगञ्ज विमानस्थलसँग अन्तर्राष्ट्रिय मापदण्डको पूर्वाधार पर्याप्त मात्रामा बनिसकेकाले उडान अनुमति दिनुपर्ने बताए।
‘नेपालगञ्ज सहर नेपालकै गेटवे हो, देशकै नामबाट नामाकरण भएको ऐतिहासिक शहरलाई मित्र राष्ट्र भारतको राजधानीसँग सिधा हवाई मार्गमा जोड्ने हो भने दुवै देशलाई फाइदा पुग्नेछ,’- गुप्ताले भने।
नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानको मुद्दालाई आसन्न आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारत सरकार समक्ष कुरा राखेर ठोस् निर्णय गराउनेमा यहाँका राजनीतिक दल, सांसद, नागरिक समाज, उद्योगी, व्यवसायी लगायत विश्वस्त देखिएका छन्।


