
नेपालगञ्ज : राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको केहीबेर अघि सकिएको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
कक्षा १२ को परीक्षामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै ३८ दशमलव ८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसैबीच कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो भदौ २८ र २९ गते हुने बोर्डले जनाएको छ ।

गत वैशाख १४ गतेदेखि शुरू भएर २६ गते सकिएको परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ जना परीक्षार्थी सहभागी थिए ।
परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ ।


