नेपालगञ्ज भन्सारको राजश्व असुली यसबर्ष पनि लक्ष्यभन्दा कम

सिवेन्द्र भन्डारी २ श्रावण २०८२, शुक्रबार १२:५२
 

नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयले लगातार दुई आर्थिक वर्षमा लक्ष्य भन्दा कम राजश्व संकलन गरेको पाईएको छ । गत दुई आर्थिक वर्षमा महत्वकाँक्षी लक्ष्य राखेर विभागले पठाए पनि राजश्व असुली हुन नसकेपछि विभागले आगामी आर्थिक वर्षको लागि लक्ष्य घटाएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०८१ / ०८२ मा ११ खर्ब ७८अर्व ८२ करोड राजश्व असुली गरेकोमा सरकारले लिएको अर्धवार्षिक राजश्व संशोधन लक्ष्य १२ खर्ब ८६ अर्वको लक्ष्य असुलीे गरेको र जुन ९१.६० प्रतिशत हुन आउँने जनाई रहदाँ नेपालगञ्ज भन्सार कार्यालयले भने न्यून राजश्व असुली गरेको हो ।

आर्थिक वर्ष २०८१ / ८२ मा नेपालगञ्ज भन्सारलाई २७ अर्ब १८ करोड ३५ लाख ८० हजारको लक्ष्य दिइएकोमा २० अर्ब २८ करोड ७२ लाख १ हजार रुपैयाँ अर्थात ७४ दशमलव ३६ प्रतिशत राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब १२ करोड ९९ लाख अर्थात ११ दशमलव ७३ प्रतिशत बढी असुली गर्न सफल भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।


नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्ष २०८० / ०८१ मा २८ अर्ब लक्ष्य रहेकोमा १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार असुली भएको, जुन प्रतिशतको हिसाबले ६३ प्रतिशत रहेको र यसरी लगातार भन्सार दुई आर्थिक वर्षमा भन्सार राजश्व असुली लक्ष्यमा नपुगेपछी चालू आर्थिक वर्ष २०८२ / ०८३ को लक्ष्य भने विभागले झण्डै २ अर्ब कम गरि २४ अर्बको नयाँ लक्ष्य दिएको हो ।

भन्सार प्रमुख पौडेलले कार्यालय परिसरमा लामो समयदेखि लिलाम गर्न बाँकी रहेका बस्तुहरुको लिलाम बिक्री गरि ३ करोड ७६ लाख संकलन गरिएको बताए । उनले नेपालगञ्ज भन्सार हुँदै नेपालबाट जडिबुटी र प्लाईउडको निर्यातका कारण गत आर्थिक वर्षको तुलनामा राजश्व बढेको दाबी गरे । उनले निर्यातमा वार्षिक झण्डै २ अर्ब ९० करोड राजश्व संकलन भएको बताए ।

उनले समग्र भन्सार प्रणालीलाई व्यवस्थित गर्नका लागि एकीकृत जाँच चौकी संचालनमा आए पनि पार्किङ लगायतको थप शुल्कका कारण व्यवसायीले अन्यत्र भन्सारबाट सामान आयात गर्दा नेपालगञ्ज भन्सारमा त्यसको असर देखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा फस्टाउँदै माछापालन व्यवसाय

२ श्रावण २०८२, शुक्रबार १२:५२
नेपालगञ्ज : बाँकेमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । सजिलै माछा पोखरी बनाउन सकिने तथा राम्रो बजारका कारण पनि माछापालन व्यवसाय तर्फ किसाहरुको आकर्षण बढेको हो । पहिले–पहिले घरमा खानका लागि माछा पाल्ने किसानले अहिले व्यवसायिक रुपमा माछा पाल्न थालेका छन् । माछा बेचेर उनीहरुले राम्रो आम्दानी गरीरहेका छन् । […]