
नेपालगञ्ज : बाँकेमा पानी नपर्दा रोपेको खेत सुकेर धाँजा फाटेको छ । रोपाइँका लागि सिचाईको सुविधा नभएको कारण रोपेको खेतमा गह्रा सुकेर धाँजा फाटेको हो । बाँकेमा पर्याप्त वर्षा नहुँदा धान रोपाई प्रभावित भएको छ । सिचाईको सुविधा नपुगेको ठाउँमा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ ।
उसो त किसानहरु खाल्टाखुल्टीमा जमेको पानी र बोरिङ्गको मदतले धान रोपे पनि वर्षात हुन नसकेको कारण रोपेको खेत पनि सुक्दै धाँजा फोटेको बताउछन डुडुवा–४ बाँकेका जमिल खान । उनले बोरिङ्ग हुनेहरुले अलिअलि सिचाई गरे पनि अत्यन्तै लो भोल्टेजका कारण मोटर नचल्दा त्यसरी पनि सिचाई गर्न नपाएको गुनासो गरे ।
‘अलि अलि पानीको जोहो गरेर धान रोपियो । खेतका गह्रा भरिने गरी पानी नपर्दा हाम्रो त बेजोग हुने भयो । रोपेको खेत पनि सुकेर चिराचिरा परेको छ’– उनले भने । उनले सिचाई गर्नको लागि पनि खाल्टा खुल्टीमा पानी पनि नभएको बताए ।
नेपालगञ्ज–२३ कीे ज्योति कोरीले धानको बिउ छरेको २१ दिनभित्र रोप्नु पर्नेमा रोप्न पुग्ने गरी आकाशे पानी नपरेका कारण बिउ व्याडमै बुढो भएको गुनासो गरिन । ‘धानको विउ पनि बुढो हुदै गएको र खेतमा पानी नभएको कारण टाढा टाढाबाट पानीको जोहो गरेर रोपाई गर्नु पर्ने बाध्यता आफुहरुको छ । फेरी खेती हुने होकी होईन’–उनले दिक्क मन्दै भनिन ।

डुडुड–४ का किसान मोहम्मद गुलफाम खानले पानीको जोहो गरेर धान रोपे पनि पानी नहुँदा खेतका गह्रामै धाँजा परेर फाटेको बताए । ‘अव मल हाल्ने बेला भयो खेतमा पानी नै छैन । रोपेको धान पनि फल्छकि फल्दैन भन्ने मनमा कुरा खेलि रहेको छ’– उनले भने ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख बिनोद घिमिरेले बाँकेमा गत शुक्रबारसम्मको तथ्याङ्क अनुसार करिव ७३.५ प्रतिशत रोपाई भएको बताए । बाँकेमा ३४ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । साउनको २ गतेसम्म ७३. ५ प्रतिशत रोपाई भए पनि सुख्खाको कारण रोपेको खेत पनि सुक्दै जाँदा किसान चिन्तित छन् ।


