‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार तिमिल्सिनालाई

सदरलाइन संवाददाता १० श्रावण २०८२, शनिबार १९:०६
 

नेपालगञ्ज : साहित्यकार डा. हरिप्रसाद तिमिल्सिनालाई यसवर्षको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान गरिएको छ । वरिष्ठ साहित्यकार, गीतकार तथा संगितकार स्वर्गिय मल्लको सम्झना स्वरुप परिवारका सदस्यको सहयोगमा भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जले उक्त पुरस्कार कोष स्थापना गरेको थियो ।

स्वर्गिय मल्लको ९० औं जन्मजयन्तीको अवसरमा नेपालगन्जमा शनिबार एक समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वसदस्य एवम् महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. तिमिल्सिनालाई दोसल्ला ओढाएर नगद ५१ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्रसहित पुरस्कृत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वसदस्य सचिव सनत रेग्मी, भेरी साहित्य समाजका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल, प्राध्यापक डा. कृष्णप्रसाद घिमिरे लगायतले पुरस्कृत गरे । प्रतिभा चयन तथा सिफारिस समितिको निर्णयका आधारमा समाजका वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद रिजालले तिमिल्सिनाको नाम घोषणा गरेका थिए ।


बि.सं. १९९३ साउन ११ गते जन्मेका बहु प्रतिभाका धनी प्रेम प्रकाशको २०७२ बैशाख ११ गते निधन भएको थियो । मल्लका चर्चित गीत ‘पोखरा त साच्चिकै पोखरा नै रैछ…’, ‘वनकी म चरी…’ लगायत थुप्रै गीत तथा साहित्यिक कृतिहरु रहेका छन् । स्वर्गिय प्रेम प्रकाशकी छोरी वाणीश्री मल्लले नेपाली साहित्यिक क्षेत्रमा पिताले गरेको योगदानलाई जीवन्त बनाईराख्न पुरस्कार कोष स्थापना गरेकी थिइन् । कोषमा ५ लाख १ सय ४७ रुपैयाँ रहेकोमा शनिबार नै छोरी बाणीश्रीले थप एक लाख रुपैयाँ प्रदान गरेसँगै कोषको राशी ६ लाख १ सय ४७ रुपैयाँ पुगेको समाजका अध्यक्ष बस्नेतले बताए । समाजका कोषाध्यक्ष डा. राजकुमार थारुलाई वाणीश्रीले नगद हस्तान्तरण गरेकी थिइन् ।

‘स्वर्गिय मल्लले दिनु भएको योगदानलाई जीवन्त बनाउन अझै हामीले धेरै काम गर्न बाँकी छ, यसका लागि सबैको सहयोग चाहिन्छ,’ बस्नेतले भने, ‘उहाँ (मल्ल) राष्ट्रकै गहना हो, हामीले उहाँको लागि सक्दो गर्ने हो ।’ पुरस्कार वितरण कार्यक्रममा बोल्ने बक्ताले स्वर्गिय मल्ल बहुप्रतिभाका धनी ब्यक्तित्व भएको भन्दै उनको योगदानबारे चर्चा गरे ।

कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वसदस्य सचिव रेग्मीले स्वर्गिय मल्लका कृतिलाई एकिकृत गर्न आवश्यक रहेकोमा जोड दिए । वरिष्ठ साहित्यकार मल्ललाई चिनाउन यसक्षेत्रका साहित्यकारहरुको पनि विशेष भूमिका रहेको उनले बताए ।स्वर्गिय प्रेम प्रकाशकी छोरी वाणीश्रीले बुवाको योगदानलाई अविष्मरणीय बनाईराख्न आफुहरुले पनि सक्दो प्रयास गरेको बताइन् ।

सो क्रममा प्राध्यापक डा. कृष्णप्रसाद घिमिरे, साहित्यकार एवम् पत्रकार नरेन्द्रजंग पिटर, प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल, पुरस्कृत ब्यक्तित्व एवम् उपप्राध्यापक डा. तिमिल्सिना, साहित्यकार किरणा आचार्य, लेखप्रसाद प्याकुरेल, सुन्दर गुरुङ लगायतले स्वर्गिय प्रेम प्रकाशको योगदानबारे चर्चा गरेका थिए । उक्त कार्यक्रममा साहित्यकार डा. पुस्कर रिजालले पुरस्कृत ब्यक्तित्व डा. तिमिल्सिनाको ब्यक्तित्वबारे प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके फटोग्राफर संघमा पुनः भण्डारी सर्वसम्मत

१० श्रावण २०८२, शनिबार १९:०६
नेपालगञ्ज :  बाँके फोटोग्राफर तथा भिडीयोग्राफर संघको जिल्ला भेलावाट शिबेन्द्र भण्डारी पुनः नेतृत्वमा दोहोरिएका छन् । भेलाले ६ महिना भित्र अधिवेशन गर्ने गरी भण्डारीको अध्यक्षतामा पुरानै कार्यसमितिलाई निरन्तरता दिदै ७ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो । २०८० साल जेठ २८ गतेको भेलाले चयन गरिएको कार्यसमितिले २०८० फागुन १६ गते […]